वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन, विहीबार अन्त्येष्टि गरिने

काठमाडौं । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ ।

भारतको दार्जिलिङस्थित निवासमा मंगलबार साँझ हृदयाघातका कारण उनको निधन भएको हो ।

तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको जन्म सन् १९२७ को फ्रेब्रअरी ३ का दिन खरसाङको बालासन खोला नजिकै भएको थियो ।

राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्‍याएका छन् ।

केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए । उपचारका लागि उनी गतवर्ष काठमाडौंमा समेत आएका थिए ।

लीला लेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राईको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जना प्रकाशित छन् ।

नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उनको योगदान थियो ।

२०७२ सालमा राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधीले समेत सम्मान गरेको थियो ।

राईको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । राईको विहीबार दार्जिलिङमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्