प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयनको कार्यतालिका सार्वजनिक हुने

काठमाडौँ  । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। सोमबारदेखि अधिवेशन सुरु भएको बैठकमा आज शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्। अधिवेशन सुरु भएकै दिन सम्वोधन गर्ने प्रचलन भए पनि समय अभावका कारण सम्वोधनको समय मंगलबारका लागि तोकिएको हो। बिहान ११ बजे बैठक बोलाइएको छ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका संसदीय दलका नेता तथा अन्य स्वतन्त्र सांसद्ले सम्वोधन गर्नेछन्।

एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने बैठकमा सम्वोधन गर्ने छैनन्। कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सम्वोधन गर्नेछन्। संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र राजपाका तर्फबाट अध्यक्ष मण्डलका एक शीर्ष नेताले सम्वोधन गर्नेछन्।

यस्तै स्वतन्त्र सांसदका रुपमा प्रतिनिधित्व गरेका डा. बाबुराम भट्टराई, प्रेम सुवाल, राजेन्द्र लिङ्देन र दुर्गा पौडेलले पनि सम्वोधनका लागि समय माग गरेका छन्।

सभामुख चयनको कार्यतालिका

यसैबीच प्रतिनिधिसभाको आजको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्नेछ। सोमबार नै कार्यतालिका सार्वजनिक गर्ने तयारी भए पनि मंगलबार बैठक बस्ने भएपछि अधिवेशन सुरुवातको दिन औपचारिक रुपमा कार्यतालिका सार्वजनिक नभएको हो। दलीय सहमति अनुसार फागुन २६ गते सभामुख चयन हुनेछ। फागुन २५ गते सभामुखका लागि मनोनयन हुनेछ।

यस्तै, राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि पनि राष्ट्रियसभाले आजै अध्यक्ष चयनको कार्यतालिका सार्वजनिक गर्नेछ। राष्ट्रियसभा बैठक पनि मंगलबार ११ बजे नै बोलाइएको छ।

मस्यौदा समिति बन्ने

मंगलबारको बैठकबाट दुबै सदनले नियमावली मस्यौदा समिति गठन गर्ने तयारीमा छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनको नियमावली मस्यौदा समिति मंगलबार गठन हुनेछ। मस्यौदा समितिले नियमावली तयार पारी सम्वन्धित सभामा पेश गर्नेछन्। हाल अन्तरिम कार्यविधिले बैठक सञ्चालन भइरहेका छन्। अधिवशेनको पहिलो बैठकले दुबै सदनको अन्तरिमा कार्यविधि सोमबार पारित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्