सेयर बजार हल्लाका भरमा चलेको देखियो : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री जनार्दन शर्माले एउटा नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको बताएका छन् ।

सोमबार बिमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । यसअघि शनिबार पार्टीको प्रदेश सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए ।

कुनै नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु भनेको समग्र पुँजी बजारको संरचना र स्थायित्वमा प्रश्न उठेको शर्माले बताए ।

एउटा मन्त्रीले सेयर बजार बढाउने वा घटाउने काम नगर्ने भन्दै उनले भने , ‘हाम्रो सेयर बजार नीति निर्देशनबाट भन्दा पनि हल्लाको भरमा चलेको देखियो । बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने बनाउनुपर्छ ।’

सोही क्रममा लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुखको नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको उनले बताए । यस्तै, नेपाली कम्पनीमा मात्र पुनर्बीमा गर्नुपर्ने बिमा समितिको पछिल्लो निर्देशन सम्बन्धमा पनि अर्थमन्त्रालयले अध्ययन गरिरहेको शर्माले जानकारी दिए ।

त्यस्तै उनले कोरोना बिमामा सरकारले तिर्नुपर्ने दायित्व छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । मापदण्ड अनुरुप सरकारले दिनुपर्ने रकम नदिएकै कारण विगत एक वर्ष देखि बिमितले दाबी भुक्तानी नपाइरहेको अवस्थामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

यता पछिल्लोसमय सेयर बजार निरन्तर ओरालो लागी रहेको छ। यसमा देखिएको गिरावटपछि लगानीकर्ता निराश हुँदै आइरहेका छन्। बजार अब कता जान्छ भन्ने जिज्ञासा धेरैलाई छ। सेयर बजारमा अप्रत्याशित गिरावट देखिएपछि लगानीकर्ताहरु थप संवेदनशील बनेका छन्।

लगानीकर्ताहरुकै संघसंस्थाले एक कार्यदल गठन गर्दै सरकार समक्ष बजार सुधारको माग राखेका छन्।
सरकारले पुँजी बजार नबुझ्दा अहिलेको अवस्था आएको कार्यदलको ठहर छ।

प्रतिक्रिया दिनुहोस्