सरकारले पुँजी बजार नबुझ्दा अहिलेको अवस्था आएको कार्यदलको ठहरः लगानीकर्ता निराश

काठमाडौं, मंसिर २७ । पछिल्लोसमय सेयर बजार निरन्तर ओरालो लागी रहेको छ। यसमा देखिएको गिरावटपछि लगानीकर्ता निराश हुँदै आइरहेका छन्। बजार अब कता जान्छ भन्ने जिज्ञासा धेरैलाई छ। सेयर बजारमा अप्रत्याशित गिरावट देखिएपछि लगानीकर्ताहरु थप संवेदनशील बनेका छन्।

लगानीकर्ताहरुकै संघसंस्थाले एक कार्यदल गठन गर्दै सरकार समक्ष बजार सुधारको माग राखेका छन्।
सरकारले पुँजी बजार नबुझ्दा अहिलेको अवस्था आएको कार्यदलको ठहर छ। सरकारले पुँजी बजारलाई सम्बोधन गर्न नसक्दा यसको असर सरकार र लगानीकर्तालाई नै पुगेको कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले बताए। आफूहरुले सरकारको ध्यानाकर्षण गराइरहेको उनी बताउँछन्।

उनका अनुसार अर्थ मन्त्रालय तथा सरोकारवाला निकायहरुले तीन वर्ष अघि नै गर्ने भनेका सेयर बजारसम्बन्धी ५८ बुँदाका बाँकी कामहरु गरेका छैनन्। त्यसयता पनि पुँजी बजारमा प्रतिकुलता पर्ने नीतीगत व्यवस्था ल्याएपछि त्यसको असर आम लगानीकर्तामा परेको छ। तर, सरकार जिम्मेवार भएमा पुँजी बजार सम्हालिन समय नलाग्ने संयोजक पौडेलको बुझाइ छ।

पुँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै त्यसको समस्या समाधानको लागि लगानीकर्ताहरुबाट पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको पौडेलले उल्लेख गरे। तर सरकारले उक्त विषयमा चासो नदिएको कार्यदलका सदस्यहरु बताउँछन्। ‘सरकारले नेपालको पुँजी बजारलाई बुझेको छैन, जसका कारण लगानीकर्ता आत्तिएका छन्, सुरक्षित भएर बस्न सकेका छैनन्। बजारमा प्रतिकूलता छाएको छ,’ संयोजक पौडेलले भने, ‘सरकारको धारणा बजार प्रतिकुल भयो भने त्यसले पुँजी बजार धरासायी हुन्छ।’ उनले भर्खर बजारमा प्रवेश गरेकाहरु आत्तिने अवस्था आएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए।

प्रचण्डको अभिव्यक्तिले बजार प्रभावित ! 

सेयर बजारमा गिरावट देखिएको बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा बोलेका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। उनले धारणा सेयर बजार प्रतिकुल रहेकाले बजारमा त्यसको थप असर परेको बताइएको छ। सरकारमा हुने व्यक्तिका धारणाहरुले सेयर बजारमा प्रभाव पार्ने भन्दै कार्यदलका संयोजक पौडेलले बजार सम्हालिने अवस्था ल्याउन सरकार जिम्मेवार हुनुपर्ने बताए।

पुँजी करिब ४५ खर्व रुपैयाँ पुगेको बजारले करिब १२ खर्ब रुपैयाँ गुमाएको छ। यसबाट सरकारले अर्बौ राजस्वसमेत गुमाएको छ। हालको ग्राफ हेर्दा १२ लाख भन्दा बढी डिम्याट खाताधारीबाट १२ खर्व भन्दा बढी पुँजी गुमेको कार्यदलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्