सबैभन्दा बलियो टिम लिएर मैदानमा उत्रिएका छौँ : डा. मीनेन्द्र रिजाल (अन्तर्वार्ता)

काठमाडौं , मंसिर २६ । कांग्रेसको १४औँ महाधिवेशन चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ । छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तिनैमध्येका एक हुन्, डा. मीनेन्द्र रिजाल । उनी शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्री पदका उम्मेदवार छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा रक्षामन्त्री रहेका रिजालले पार्टी नेतृत्वमा देउवाको विकल्प खोज्ने वेला आइसकेको भन्दै आएका छन् । रिजालसँग  गरेको कुराकानी :

१४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । तपाईँका एजेन्डाहरू के–के छन् ?

म उमेरका हिसाबले अहिले कांग्रेसको क्रियाशील राजनीतिमा रहेका ८० वर्ष पुग्न लागेका र ४० वर्ष भर्खर पार गरेका नेताहरूको बीचमा पर्छु । मैले महामन्त्रीमा उम्मेदवारी दिनुको कारण मभन्दा पछाडि बलियो, सक्षम युवा नेतृत्व विकास भएको छ । त्यो युवा नेतृत्व जसले पार्टी र देशमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान बनाइसकेको छ । यो महाधिवेशनमा ढुक्कका साथ हामीभन्दा १५÷२० वर्ष पछाडिका युवा पुस्ता नेतृत्वमा आउने सहज वातावरण बनेको छ । मैले नेपाली राजनीतिमा अन्तिम सेवा गर्ने र अन्तिम योगदान गर्ने सबैभन्दा उचित ठाउँ मलाई महामन्त्री लाग्यो । त्योभन्दा माथि सभापतिमा आकांक्षा राख्दा पार्टीभित्रका साथीहरूले मलाई पत्याउने हैसियत मैले बनाइसकेको छैन । त्यसैले मैले नेपाली कांगेसको महाधिवेशनमा अन्तिमपटक उम्मेदवारी दिँदा महामन्त्रीभन्दा तल उम्मेदवारी दिन पनि उचित ठानिनँ र महामन्त्रीभन्दा माथि सभापतिमा मेरो पक्षमा भन्दा पनि अरू नेताको पक्षमा बलियो समर्थन छ भन्ने सजिलै अनुमान लगाउन सकिने भएकाले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।

तपाईँले जुन समूहबाट उम्मेदवारी दिनुभएको छ, त्यो समूहमा पनि विभाजन देखियो नि ?

हामीले जति सहज रूपमा उम्मेदवार तय गर्नुपर्ने थियो, त्यसरी तय गर्न सकेनौँ । अहिले सभापतिमा उम्मेदवारी दिएका प्रकाशमानजी र हामीहरू एउटै समूहमा बसेर सधैँ सँगै भएर काम गर्‍यौँ । अहिले प्रतिस्पर्धाभन्दा आफूलाई बाहिर निकाल्दा कुनै न कुनै किसिमले आफ्ना साथीहरूले आफूप्रति न्याय गरेनन् कि भन्ने मनमा राखेर रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिर हुनुभएको छ । यस अर्थमा हामीले हाम्रा साथीहरूको व्यवस्थापन जुन हिसाबले गर्नुपर्ने थियो, त्यसअनुसार गर्न नसकेकै हो । तर, रामचन्द्र पौडेलको आशीर्वाद र शशांक कोइरालाको समर्थन हाम्रो पक्षमा हुन्छ भन्ने मलाई विश्वास छ । प्रकाशमानजीसँग हाम्रो एउटा एजेन्डा समान छ । कांग्रेसको नेतृत्वमा अब शेरबहादुर देउवाभन्दा फरक अनुहार आउनुपर्छ भन्ने एजेन्डा मिल्छ । देउवाजीको विकल्प खोज्नुपर्छ भन्ने अडान उहाँको पनि छ । हामीले पनि देउवाजीको विकल्पमा अर्को उम्मेदवार खोज्ने हो । त्यस अर्थमा प्रकाशमानजीसँग हाम्रो एकरूपता छ ।

विमलेन्द्र निधि देउवा समूहको बलियो खम्बाका रूपमा क्रियाशील हुनुहुन्थ्यो । वैचारिक रूपमा उहाँसँग पनि हाम्रो समानता छ । त्यो समानता भनेको पनि देउवाको विकल्प खोज्नुपर्छ भन्ने नै हो । यस अर्थमा हामी नेतृत्व परिवर्तनको एजेन्डामा सँगै छौँ ।

यहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री हुनुहुन्छ । विगतमा लामो समय देउवानिकट पनि हुनुहुन्थ्यो । यस्तो व्यक्तिले आज देउवाको विकल्प खोज्ने वेला भयो भन्दा कार्यकर्ताले अलि असहज ठान्दैनन् ?
मैले व्यक्तिगत रूपमा देउवाजीको विकल्प खोज्नुपर्छ भन्दा कहिलेकाहीँ मलाई नै पनि असहज महसुस हुन्छ । असहज यस अर्थमा कि देउवाजीको सबैभन्दा स्नेह प्राप्त गरेका केही सीमित मान्छेहरूमध्ये म पनि एक हुँ । मेरो राजनीतिक जीवनमा देउवाजीको असाध्यै ठूलो सहयोग रहेको छ । उहाँप्रति मेरो आदर भाव छ । अहिले म उहाँ नेतृत्वको सरकारको रक्षामन्त्री पनि हुँ । उहाँ नेतृत्वको सरकारले मुलुकलाई निर्वाचनमा पुर्‍याएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीको रूपमा पुनस्र्थापित गर्नुपर्छ भन्ने मलाई लाग्छ । यस्तो वेलामा मैले पार्टीमा उहाँको विकल्प खोज्नुपर्छ भन्नुपर्दा कसैलाई असहज लाग्न सक्छ । म यति मात्रै भन्छु कि देउवाजीले प्रधानमन्त्रीका रूपमा देशलाई आगामी निर्वाचनसम्म पुर्‍याउनुहुन्छ ।

त्यति असहज लाग्दालाग्दै पनि सभापतिमा अर्को उम्मेदवारसहित महामन्त्रीको उम्मेदवारी किन दिनुभएको ?
पार्टी र व्यक्ति फरक कुरा हुन् । मेरो व्यक्तिगत विषय एउटा हुन सक्छ, पार्टीको आवश्यकता अर्को हुन सक्छ । अहिले त्यही अवस्था हो । आउने निर्वाचनमा कांग्रेस जनतामा जाँदा नेतृत्वमा नयाँ अनुहारसहित जानुपर्छ । यो मेरो मात्र होइन, देशभरका कार्यकर्ताको भनाइ हो, चाहना हो । त्यसैले मैले देशलाई नेतृत्व गर्न सक्ने कांग्रेस नेतृत्व तयार गर्नका लागि देउवाजीभन्दा अर्को नेतृत्व आउनुपर्छ भनेको हुँ । प्रधानमन्त्रीका हैसियतमा देशलाई निर्वाचनसम्म लैजाने मुख्य जिम्मेवारी त देउवाजीको छँदै छ । र, उहाँले नेतृत्व गरिरहेको सरकारको मन्त्रीका हिसाबले मैले पनि मेरो जिम्मेवारी सही ढंगले निर्वाह गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु । अब, पार्टी नेतृत्वमा विकल्प आवश्यक छ भन्ने निष्कर्ष र त्यो निष्कर्षप्रति दृढसंकल्प गरेर मैले यो समूहबाट उम्मेदवारी दिएको हुँ ।

देउवाजी अहिले पनि पार्टी सभापति हुनुहुन्छ । उहाँको विकल्प खोज्नुपर्छ भन्ने यहाँहरू आज बिहानसम्म पनि सहमतिको खोजी गर्दै हुनुहुन्थ्यो । तर, सक्नुभएन र संस्थापन इतर पक्षका दुई समूह प्यानल नबाएरै मैदनमा उत्रिएका छन् । यसले नेतृत्वको विकल्प खोज्ने प्रयासमा बाधा गर्दैन ?
तपाईंहरूले आशंका उठाउनु स्वाभाविक हो । हिजो हामी बहुमत पक्ष होइन, संस्थापन पक्ष होइन, संस्थापनभन्दा बाहिर रहेका मानिसहरूले नै एकभन्दा बढी समूहमा विभाजित भएर उम्मेदवारी प्रस्तुत गरेका छौँ, त्यसैले आशंका स्वाभाविक हो । त्यस अर्थमा त्यो आशंकालाई गलत सावित गर्न हामीले निकै कडा मिहिनेत गर्नुपर्नेछ । त्यसले हामीलाई झन् बढी ऊर्जा र जाँगर दिएको छ । हामीले यस्तो प्यानल प्रस्तुत गरेका छौँ, त्यसको क्रियाशीलता, प्रभावकारिता र विश्वसनियताले गहिरो छाप छाडेको छ । हाम्रो टिमबाट नेतृत्व गर्ने शेखर कोइरालाजी जसले झन्डै चार वर्षदेखि घर–घरमा पुगेर नेपाली कांग्रेसको मात्र होइन, आमनागरिकको सुख, दुःखमा साथ दिँदै आउनुभएको छ । कांग्रेस अप्ठ्यारोमा हुँदा गगन थापाजी र मैले सडक र संसद्मा बसेर जुन भूमिका निर्वाह गर्यौँ त्यो भूमिकाले हामीप्रति कांग्रेस कार्यकर्ताहरूमा स्नेह, माया र विश्वास आर्जन गरेको छ । चन्द्र भण्डारीजीको विज्ञता, धनराज गुरुङजीको स्वच्छ छवि र उहाँले आममानिससँग जोडिन जसरी आफूलाई प्रस्तुत गर्नुभएको छ र उहाँप्रति युवाहरूको आकर्षण जसरी देखिएको छ यो हाम्रो बल हो । हाम्रो टिम हिजो बिपी कोइरालाले कांग्रेस निर्माण गर्दाको जस्तै ऊर्जाशील र देशलाई नेतृत्व गर्न सक्ने भरोसाको छ । अरू पदमा लड्ने साथीहरू पनि त्यस्तै काबिल हुनुहुन्छ । त्यस अर्थमा अप्ठ्यारोका बाबजुद हामी यो निर्वाचनको प्रतिस्पर्धामा आममहाधिवेशन प्रतिनिधिको बहुमतबाट समर्थन पाएर विजयी हुनेछौँ भन्ने विश्वास छ ।

संस्थापनइतर पक्षबाटै महामन्त्रीका तीनजनाले उम्मेदवारी दिनुभएको छ । तीनमध्ये यहाँ सबैभन्दा बढी जोखिममा हुनुहुन्छ भन्ने आकलन गरेका छन् । यहाँलाई त्यस्तो लागेको छ ?
संस्थापनइतर पक्षबाट महामन्त्रीमा हामी दुईजना मात्रै महामन्त्रीका उम्मेदवार हौँ । म र गगन थापा मात्रै हौँ । विश्वप्रकाश शर्माजीलाई संस्थापनइतर भनेर भन्ने परिभाषा गलत छ । उहाँ पार्टीको प्रवक्ता हुनुहुन्छ । त्यो जिम्मेवारीलाई संस्थापनइतर पक्षको जिम्मेवारी भनेर बुझिँदैन । उहाँ संस्थापनकै उम्मेदवार हो । संस्थापन पक्षमा तीनजना उम्मेदवार हुनुहुन्थ्यो । उहाँहरूका लागि यथेष्ट स्थान बन्न सकेन । त्यसैले उहाँहरूमध्ये एकजना शेरबहादुर देउवाजीको टिम छाडेर अर्को टिमबाट उम्मेदवार हुनुभएको हो । हामी एजेन्डा र समूहका हिसाबमा बलियो छौँ । यसकारण म अगाडि बढेको हुँ । निश्चय नै प्रतिस्पर्धामा जोखिम हुन्छन्, त्यसमा सचेत छौँ । हाम्रो टिम हाम्रो बल हो । त्यसैले म आफूलाई जोखिममा छु भन्ने ठान्दिनँ । हाम्रो सिंगै टिमले सानदार ढंगले महाधिवेशन प्रतिनिधिको मन जित्नेछ र अत्यधिक मतले हामी विजयी हुनेछौँ ।

नेपाली कांग्रेस विचारको बहस छोड्यो भन्ने गुनासो आउन थालेको धेरै भयो । हुँदा–हुँदा यसपटक त महाधिवेशन नै नीतिबारे कुनै छलफल भएन । महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित गरेको देखियो । के अब कांग्रेसमा विचारको बहस आवश्यक छैन ? यहाँहरूले बहस छाड्नुभएको हो ?

यहाँले उठाउनुभएको गुनासो आमकार्यकर्ताको गुनासो हो । हामीले लामो समयदेखि पार्टीभित्र नीतिगत विषयको बहस आवश्यक छ भन्दै आएका हौँ । अहिले मनोनयन दर्ता गराएको हाम्रो टिममा रहेका हरेक सदस्यलाई हेर्नुभयो भने उहाँहरू विचारको बहसमा अग्रपंक्तिमा उभिएको पाउनुहुन्छ । हाम्रो टिमका नेताहरू नै बहसलाई लिएर हिँड्नेमा पर्नुहुन्छ । बाँकी अरूले बहस छाडिसकेको भन्दा हुन्छ । त्यसैले हामी विचारशून्य होइन, विचारका धनीहरूको समूहको रूपमा छौँ । नेपाली कांग्रेसमा विचारको खडेरी पर्दा विचारको राजनीतिलाई बोकेर हिँड्ने मानिसहरू नै हाम्रो टिममा अग्रपंक्तिमा उभिएर आम मतदाता, महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्नलाई जम्मा हुनुभएको छ । यो कुरा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले बुझ्नुभएको छ । जहाँसम्म यसपटकको महाधिवेशनमा विचारको बहस भएन नै । तर, अब आउने नेतृत्वले तीन महिनाभित्र पार्टीको विचार कस्तो हुने, कार्यक्रम के हुने भन्ने प्रस्तावसहित देशभरका प्रतिनिधिको भेला आयोजना गर्नेछ । त्यसले पार्टीको आगामी नीति तय गर्नेछ । यसकारण, कांग्रेसले विचार छाड्यो र नेतृत्व छान्नतिर मात्र लाग्यो भन्न मिल्दैन । अझ, विचारको बहस गर्दै आएकाहरू रहेको हाम्रो टिमलाई त भन्नै मिल्दैन ।

यहाँले जस्ता तर्क गरे पनि चालू महाधिवेशनमै सहभागी भएका थुप्रै महाधिवेशन प्रतिनिधिले कांग्रेसले विचार छाड्यो, वैचारिक छलफललाई प्राथमिकता दिइएन भनेका छन् नि ?

महाधिवेशनमा नीति मात्र होइन, नीतिलाई बोकेर हिँड्न सक्ने नेतृत्व पनि खोजी गरिएको हुन्छ । त्यसैले उहाँहरूको त्यस्तो गुनासो आएको होला । उहाँहरूको गुनासो बिल्कुल जायज छ । हामीले नेपाली कांग्रेसलाई सधैँ नीतिप्रधान पार्टी बनाउँदै आएका छौँ । त्यसैले आगामी दिनमा पनि त्यो गौरव नभुलोस् भन्ने चिन्तासहित महाधिवेशन प्रतिनिधिहरूले त्यस्तो कुरा उठाउनुभएको ठान्दछु । हाम्रो टिम पार्टीलाई नीतिमुखी बनाउनुपर्छ भन्नेहरूकै बाहुल्यता भएको टिम हो । नीति छाडेर बिकाउ नारा मात्रै लगाउने हो भने केपी ओलीजीभन्दा हामी फरक हुँदैनौँ । ओलीजीले पनि ठूलो र चर्को नारा लगाउनुभयो । नेपाललाई कहाँबाट कहाँ पुर्‍याउँछु भन्नुभयो । तर, सक्नुभएन । नीति नारा लगाउने कुरा मात्रै होइन, कागजमा लेख्ने कुरा मात्रै होइन त्यो नीतिलाई बोक्न सक्ने विश्वसनीय नेतृत्व चाहिन्छ । महाधिवेशनमा स्वाभाविक रूपमा आफूले प्रस्तुत गरेको विचारलाई बोक्न सक्ने नेतृत्व हो कि होइन भन्ने बहस गहिरो र विस्तारित रूपमा हुन्छ । अहिले कांग्रेसमा विचारको होइन व्यक्तित्वको प्रतिस्पर्धा छ भन्ने देखिएको होला, चुनावको वेला यो देखिनु अस्वाभाविक होइन । तर, म निर्धक्कसँग भन्छु, हाम्रो टिम व्यक्तिभन्दा विचारलाई प्रधान दिने टिम हो ।

संस्थापनइतर समूहबाट सभापतिमा एउटै साझा उम्मेदवार खोज्ने भनेर निकै छलफल भए । यहाँहरूमध्ये सबैभन्दा सिनियर लिडर रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँ पार्टीको वरिष्ठ नेता पनि हो । तर, उहाँको नाममा समेत सहमति जुट्न सकेन । उहाँले सञ्चारमाध्यममार्फत मार्मिक ढंगले र पछि विज्ञप्ति नै निकालेर पीडा पोख्नुभएको छ । उहाँले खुलेर साथ नदिँदा असर गर्दैन ?

हाम्रो समूहमा स्वाभाविक रूपमा सभापतिको उम्मेदवार रामचन्द्र पौडेल नै हुनुपर्ने थियो भन्ने स्वीकार गर्छु । त्यो परिस्थितिमा पुगेनौँ । त्यो परिस्थितिमा नपुग्दा रामचन्द्र दाइलाई मप्रति जे न्याय हुनुपर्ने थियो त्यो हुन सकेन, जे जिम्मेवारीका लागि साथीहरूले प्रस्तावित गर्नुपर्ने थियो त्यो गर्नुभएन भन्ने मनमा गुनासो रह्यो होला । तर, रामचन्द्र पौडेलजीको समर्थन, सहयोग र आशीर्वाद हामीलाई प्राप्त हुन्छ भन्ने पूर्ण विश्वास छ । किनभने, हामी सबैले चाहेको भनेको देउवाको विकल्प हो । पार्टीलाई नयाँ विकल्प दिनु हो । त्यसैले उहाँको साथ समर्थन हामीलाई नै प्राप्त हुनेछ ।

सभापतिमा थुप्रैले उम्मेदवारी दिनुभएको छ । पहिलो चरणमै परिणाम आउला कि दोस्रो चरणमा पुग्ला ?
सभापति पदको निर्वाचन पहिलो चरणमा नै टुंगिन्छ भन्ने विश्वासका साथ हामी जुटिरहेका छौँ ।

१४औँ महाधिवेशनपछि नेपाली कांग्रेसले दिने सन्देश के हो ?
नेपाली कांग्रेसले सात दशकभन्दा बढी संघर्ष गरेर देशमा संविधान निर्माण गरेको छ । बिपी कोइरालाले २००६ सालमा संविधानसभाले नेपाल जनराज्यको संविधान बनाउँछ भन्नुभएको थियो । त्यतिखेरको विचार अहिले पूरा भएको छ । विकास र समृद्धिको लागि नेपाली कांग्रेस भरोसालाग्दो पार्टी बन्नुपर्छ । भरोसाको कडी कहीँ न कहीँ टुटेको कुरा अघिल्लो निर्वाचनले प्रमाणित गरेको छ । अब हामीले आउने निर्वाचनका लागि कांग्रेसलाई जनताको भरोसाको पार्टी, जनताको सबैभन्दा प्रिय पार्टी, बहुमत प्राप्त गर्न सक्ने पार्टी र बिपीले सोचेजस्तै समृद्ध नेपाल बनाउने पार्टी बनाउनुपर्छ । त्यही नै हाम्रो महाधिवेशनको मुद्दा हो, त्यही नै महाधिवेशनको प्रमुख जिम्मेवारी पनि हो । त्यही नै महाधिवेशनले दिने सन्देश हो ।-नयाँ पत्रिका दैनिकबाट साभार 

प्रतिक्रिया दिनुहोस्