संघीय संसद्को पहिलो बैठक आज बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको पहिलो बैठक आज बस्दै छ । देश संघीयतामा गएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक आज बस्न थालेको हो ।

प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि हिजो सांसदहरुले शपथ ग्रहण गरेका थिए । दुवै सदनको बैठक अपराह्न ४ बजे संघीय संसद भवनभित्रका छुट्टाछुट्टै हलमा बस्नेछ ।

प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्दै छन् ।

संसदीय परम्पराअनुसार बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसद्को आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाइने छ ।

संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्नेछ । पहिलो बैठक भएकाले शहीदहरुको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइन्छ ।

यसैगरी दुवै सदनको पहिलो बैठकलाई दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी पनि भइरहेको छ ।

त्यसैगरी दुवै सदनमा अन्तरिम कार्यविधि प्रस्तुत गर्ने र त्यसलाई पारित गर्ने कार्यतालिका निर्धारण गरिएको छ ।

प्रतिनिधिसभाले सभामुखको र राष्ट्रियसभाले अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची पनि छ ।

फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ । फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्