नक्कली नेपाली नोट फेला पर्ने क्रम बढ्यो, सजगता जरूरी

काठमाडौँ , ७ मंसिर । विगतको इतिहास हेर्दा भारतीय नक्कली नोट नेपालमा फेला पर्ने गरेको भए पनि अहिले नक्कली नोट भेटिने क्रम बढेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्त बहादुर कुँवारका अनुसार नेपालमा केही वर्षको विवरण हेर्दा अवैधरूपमा नक्कली नेपाली मुद्राको कारोबार भइरहेको देखिएको छ । उहाँले भन्नुभयो, “ पहिले नेपालमा भारतीय लगायत विदेशी मुद्राका नक्कली नोटहरू भेटिने गरेपनि अहिले नेपाली नक्कली नोटहरु भेटिन थालेकाछन् ।” बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहेको छ ।

कहिले नक्कली नोट मात्रै त कहिले नक्कली नोट कारोबार समेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । यी विभिन्न घटनाक्रमले नेपालमा नक्कली नोटको करोबार बढेको पुष्टि हुने उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार विगत तीन वर्षको विवरण हेर्दा आर्थिक वर्ष २०७७-०७८ मा नक्कली मुद्राको मुद्दा संख्या २५ वटा रहेकोमा स्वदेशी पुरुष ४२, एक जना महिला र एक जना विदेशी पुरुष गरी ४४ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०७८-०७९ को कात्तिकसम्म १५ वटा मुद्दाको संख्या रहेको छ ।

दुई जना विदेशी पुरुषसहित एक जना स्वदेशी महिला र २८ जना पुरुष पक्राउ परेका छन् । यो अवधिमा १०, २०, ५०, १००, ५०० र एक हजार रुपियाँका २६ हजार अबैध नेपाली नक्कली नोट बरामद भएको देखिएको नेपाल प्रहरीको तथ्यांक छ । विभिन्न ठाउँमा प्रहरीले बरामद गरेको नेपाली रुपियाँ बराबरको जाली नोटहरु फेला पर्ने गरेको प्रवक्ता कुँवारले बताउनुभयो ।

राष्ट्र बैंकका सूचनाअधिकारी तथा प्रवक्ता नारायणप्रसाद पोखरेलले भन्नुभयो, “ कतिपय अवस्थामा कारोबार गर्दा नक्कली नोट हात लाग्छ ।” कारोबारकै क्रममा भेटिए त्यो नोट बराबरको रकम दिनुपर्छ । उहाँका अनुसार करोबार गर्ने बेला फेला परेमा त्यो नोट बराबरको रकम दिने गरिएको छ ।

उहाँले भन्नुभयो, “ हामीहरु लामो समयदेखि पैसाको काम गर्ने भएकाले नोट गन्द नै नक्कली परेमा थाहा भइहाल्छ ।” उहाँले सामान्य सतर्कता अपनाए सर्वसाधारणले पनि नक्कली नोट चिन्न सक्ने बताउनुभयो । उहाँका अनुसार नक्कली नोट चिन्ने विभिन्न उपायहरु रहेको छ ।

कसरी चिन्न नक्कली नोट

“ पहिले कागज खस्रो छ कि सामान्य छ भनेर हेर्ने, कटकट गरेर नोटलाई भाँच्ने, पछाडिबाट लाइट बालेर पानीछाप हेर्ने, सक्कली नोट हो भने पछाडिबाट लाइट बालेर हेर्दा देखिन्छ । अगाडिबाट फोटोकपी गरेर जोडिएको छ भने, नक्कलीमा पछाडिबाट लाइट बाल्यो भने देखिँदैन, ” पोखरेलले भन्नुभयो, “हरेक नोटमा सगरमाथा हुन्छ, सगरमाथामा लाइट बालेर हेर्दा बल्यो भने त्यो सक्कली हो, बलेन भने त्यो नक्कली हो ।” गभर्नरको हस्ताक्षर र नोटको नम्बर हेर्न सुझाव दिँदै नक्कली नोट हो या सक्कली थाहा पाउन सकिने उहाँले बताउनुभयो ।

नोट छाप्ने कागज, व्यवस्थापन गर्दादेखि नै सुरक्षाका उपायहरू बैंकले अपनाउने गरेको पनि पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ नोट छाप्ने कम्पनीलाई पानीछाप राख्ने तरिका, बत्ती बल्दा देखिने कुरालगायतका सुरक्षात्मक उपायहरू राख्न सुरुमै जानकारी गराउछौँ ।” सक्कली नेपाली नोटको कागज खस्रो हुने र पानी हाल्दा पानी बगेर जाने र नक्कलीमा त्यस्तो नहुने उहाँले बताउनुभयो ।

सामान्य खालको नक्कली नोट सर्वसाधारणले चिन्न सक्ने हुन्छ । पोखरेलका अनुसार कतिपय अवस्थामा सर्वसाधारणले नक्कली नोट चिन्न नसक्ने हुन्छ । तर वित्तीय प्रणालीमा भित्रिएका नक्कली नोटहरू प्रायः पहिचान हुने गरेको उहाँले बतानुभयो । उहाँका अनुसार ठूलो रकम नगदमा कारोबार नगरेर ब्याङ्किङ प्रणाली अपनाउँदा नक्कली नोटको खतराबाट बच्न सकिने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्