१८औं हस्तकला मेलामा भयो आठ करोडको कारोबार

काठमाडौं, ५ मंंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।

समापन कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढिले अवलोकन गरेको बताउनुभयो । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उहाँले जानकारी गराउनुभयो । दोस्रो दिन शनिबार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मे हम्मे परेको शाक्यको भनाइ छ ।

महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो । सो अवसरमा १६औं कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम हुनुभएको छ भने पुन महर्जन द्वितिय र आशा माया महर्जन तृतीय हुन सफल हुनुभएको छ ।

त्यस्तै परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितिय र राम बज्राचार्य तृतीय हुनुभएको छ । प्रथम द्धितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरुको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताउनुभएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको मेलाको समापन वागमति प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुभयो ।
मेलामा विभिन्न हस्तकला विधाका एकसय २० भन्दा बढी स्टल रहेका थिए । मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारा गाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनीको साथै विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको तथा सिप पुस्तान्तरणका लागि प्रविधि र ज्यावलहरु हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्