आँखा पाक्दा ज्योति गुम्ला !

काठमाडौं । कतै तपाईंलाई आँखाको डिल सुन्निने, चिलाउने र कचेरा लाग्ने तथा आँखा रातो हुने समस्या त देखिएको छैन ? यदि त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् है ! नत्र समस्या झनै बढ्न सक्छ र सदाका लागि आँखाको ज्योति गुम्ने डर पनि हुन्छ । बढ्दो प्रदूषण र वर्षायामका कारण हिजोआज आँखा पाक्ने रोग धेरैमा देखिन थालेको छ । खासगरी  बालबालिकामा यो समस्या देखिएको छ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका निर्देशक डा. मोहनराज वज्राचार्यका अनुसार वर्षायाम सुरु भएलगत्तै अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्या बढ्ने गरेको छ । उनका अनुसार अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म आँखा पाक्ने समस्या बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ तर वर्षायाममा धुलो बढी हुने गर्छ । तपाईंलाई लाग्ला, वर्षायाममा त हिलो पो बढी हुन्छ, कसरी धुलो बढी हुन्छ र ? तर जब पानी पर्न रोकिन्छ, हिलो धुलोमा परिणत हुन्छ र फुङफुङी उड्न थाल्छ । त्यही फोहोर धुलो आँखामा पर्ने हुनाले बालबालिकालाई चाँडै सताउने गर्छ ।
त्यसो त यो रोगले कुनै महिना, बार र मौसम भनेर कुर्दैन । जहाँ प्रदुषित धुलो हुन्छ, त्यहीँ यो रोग पुगिहाल्ने निर्देशक वज्राचार्य बताउँछन् । उनी भन्छन्, ‘भाइरस, ब्याक्टेरिया तथा एलर्जीका कारण आँखा पाक्ने भएकाले यसको संक्रमण महामारीका रूपमा कुनै पनि समयमा फैलन सक्छ । त्यसकारण हामी बाह्रै महिना सतर्क रहेर बस्नुपर्ने हुन्छ ।’
वर्षातको समयमा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुन्छन्, जसका कारण यस रोगले महामारीकै रूप पनि लिनसक्ने बताउँछन् आँखा अस्पतालकै अर्का चिकित्सक रमेश सापकोटा । असारको दोस्रो सातामा फाट्टफुट्ट बिरामी आउने गरेकोमा साउनको तेस्रो सातासम्म बिरामीको चाप अत्यधिक बढेको सापकोटा बताउँछन् ।
यो रोग लाग्नुभन्दा पहिले आँखा चिलाउने, आँशु आइरहने र आँखा रातो हुने लक्षण देखिन थाल्छ । यस्तो लक्षण देखा पर्नेबित्तिकै उपचार गरेमा एक सातामा निको हुने निर्देशक वज्राचार्यले बताए । आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभावी औषधि हाल्न नहुने पनि उनले बताए । त्यसो त आँखा रातो हुने, दुख्ने तथा चिप्रा लागेको भन्दैमा आँखा पाकेको भन्न मिल्दैन । आँखामा विभिन्न समस्या भएर पनि यस्तो समस्या आउन सक्छ । ‘विभिन्न कारणले आँखा पाक्ने भएकाले सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ,’ निर्देशक वज्राचार्य भन्छन्, ‘ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारण आँखा पाक्ने हुँदा यिनीहरूको उपचारका लागि पनि छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलमा बस्नेलाई थाहा नहुन सक्छ । जसका कारण उनीहरूले सबैलाई एकैखालको औषधि दिने गर्छन् ।’
आँखा पाक्नु भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु, चिप्रा लागिरहनु, आँखा रातो हुनु हो । चिकित्सकहरूका अनुसार यो रोग भाइरस, ब्याक्टेरिया, फङ्गस, एलर्जीबाहेक अरू कारणजस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर तथा अन्य औषधिको साइड इफेक्टका कारण पनि हुनसक्छ ।
यो रोग एक जनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहने वज्राचार्य बताउँछन् ।

स्रोतः शुक्रबार

प्रतिक्रिया दिनुहोस्