गत वर्षको तुलनामा यस वर्ष महँगी बढ्यो: राष्ट्र बैंक, तीन महिनामा भित्रियो दुई खर्ब ३९ अर्ब रेमिट्यान्स

काठमाडौं, कातिक ३० ।   नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको बताएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले बताएको हो।

वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले मंगलबार असोजमा वार्षिक मुद्रास्फिति (मूल्यवृद्धि) दर ४.२४ प्रतिशत रहेको जानकारी गराएको हो। गत वर्षको असोजमा मुद्रास्फिति दर ३.७९ प्रतिशत रहेको थियो। पछिल्लो समय इन्धनमा भइरहेको मूल्यवृद्धिका कारण सबै क्षेत्रको मूल्यवृद्धि चर्को रहेका बेला राष्ट्र बैंकले समग्र मूल्यवृद्धि दर ४.२४ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार असोज महिनासम्म खाद्य तथा पेय पदार्थ समुहको ३.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समुहको मूल्यवृद्धि दर ४.७२ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

समीक्षा महिना असोजमा घिउ तथा तेलको मूल्य चर्को वृद्धि भएको छ। गत वर्ष असोजको तुलनामा घिउ तथा तेलको मूल्यवृद्धि ३१.६८ प्रतिशतले भएको राष्ट्र बैंकले उल्लेख गरेको छ। त्यस्तै माछा तथा मासुको मूल्य ११.९३ प्रतिशत, दाल तथा गेडागुडीको मूल्य १०.७१ प्रतिशत, सूर्तिजन्य वस्तु तथा गैर मदिराजन्य पेयपदार्थ उपसमूहको मूल्यवृद्धि दर क्रमशः १०.१२ र ९.६३ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार यसवर्ष काठमाडौं उपत्यकाको तुलनामा तराईमा बढी मूल्यवृद्धि रहेको उल्लेख गरेको छ।

यस वर्ष असोजमा तराईमा ४.०१ प्रतिशत मूल्यवृद्धि दर रहेको र काठमाडौंमा ३.४८ प्रतिशत मूल्यवृद्धि दर रहेको राष्ट्र बैंकले उल्लेख गरेको हो। पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि रहेको छ। गत वर्ष असोजमा तराईमा ४.४६ प्रतिशत, काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले थोकमा गत वर्षको तुलनामा मूल्यवृद्धि दर घटेको दावी गरेको छ। यस वर्ष असोजमा थोक मूद्रास्फिति दर ३.८३ प्रतिशत रहेको उल्लेख गरेको राष्ट्र बैंकले गत वर्ष सोही अवधिमा ८.२६ प्रतिशत रहेको दाबी गरेको हो।

पेट्रोलियम पदार्थलगायतका वस्तु भारतबाटै आयात गरेर कारोबार गरिँदै आएका छन्। अधिकांश उपभोग्य वस्तु भारतबाटै आयात भए पनि नेपालमा भारतको तुलनामा मूल्यवृद्धि दर कम रहेको राष्ट्र बैंकको भनाइ छ। गत असोजमा भारतमा ४.४८ प्रतिशत मूल्यवृद्धि दर रहेकोमा नेपालमा ४.२४ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ।

तीन महिनामा भित्रियो दुई खर्ब ३९ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घटेको (विप्रेषण आप्रवाह) रेमिट्यान्स असोजमा पनि घटेको छ ।
नेपाल राष्ट्र बंकले चालु आवको पहिलो तीन महिनाको तथ्याङ्कको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै असोजसम्म रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको जनाएको छ ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो । नेपालमा दसैं–तिहारलाई लक्षित गर्दै असोजमा सबैभनदा बढी रेमिट्यान्स आउने गर्छ । असोजमा पनि ८४ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको छ । नेपाली मद्राको साथै अमेरिकी डलरमा रेमिट्यान्स घटेको छ । अमेरिकी मुद्रामा रेमिट्यान्स ७.७ प्रतिशतले घटेर दुई अर्ब २ करोड कायम भएको छ ।

गत आर्थिक वर्षमा कोभिडका कारण ठप्प रहेको वैदेशिक रोजगारी पुनः पुरानै लयमा फर्कदै गएको छ । आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या ६६ हजार ३१६ पुगेको छ । यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेर ३४ हजार ८२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्