सरकार र फोरमको निर्णायक वार्ता आज :फोरमलाई सरकारमा ल्याउन मन्त्रालय थप्ने तयारीमा ओली

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनेबारे सत्तारुढ दल र संघीय फोरमबीच आज निर्णायक वार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको वार्ता स्थगित भएपछि, वार्ता आजका लागि सारिएको हो ।

गृह जिल्ला सुनसरी पुगेका फोरम अध्यक्ष उपेन्द्र यादवको काठमाडौं उडान रद्द भएपछि सरकारसँगको वार्ता स्थगित भएको थियो । आज दिउँसो अध्यक्ष यादव काठमाडौं आएलगत्तै सरकार र फोरमबीच वार्ता हुने फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनकाअनुसार संविधान संशोधनमा सत्तापक्ष सहमत भइसकेकाले आजको वार्तामा मन्त्रालय बाँडफाँटका विषयमा सहमति खोजीने छ ।

सरकारले पछिल्लो समय संविधान संशोधन गर्दै फोरमलाई सरकारमा ल्याउन गृहकार्य गरिरहेको छ । तर सत्तारुढ दल र फोरमबीच संविधान संशोधनमा सहमत भए पनि मन्त्रालय बाँडफाँटमा कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय थप गरेर फोरमलाई सरकारमा ल्याउन तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्