लगातार चार दिन घटेको नेप्सेमा हरियाली

काठमाडौँ , २९ कात्तिक । लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । पहिलो कारोबारका दिन गत साताको मंगलबार कात्तिक २२० गते नेप्सेमा १९ अंकको गिरावट आएको थियो ।

बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार (हिजो) एक अंकको गिरावट आएको थियो ।

यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६ लाख कित्ता सेयर किनबेच भएको छ ।

नेप्से २६ अंकले बढेको दिन नेप्सेमा कारोबार भएका सबै समूहमा सुधार आएको छ । विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा समेत वृद्धि भएको छ ।

आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्