सुदूरपश्चिमको खप्तडमा होमस्टेको तयारी ,स्वरोजगारको श्रृजना, स्थानीय परिकार र सस्कृतिको जगेर्ना हुने
काठमाडौं । पर्यटन गतिविधि बढाउन सुदूरपश्चिमको खप्तडमा होमस्टेको तयारी थालिएको छ । सुदूरपश्चिमको पर्यटनको मुटुका रुपमा चिनिने खप्तडमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्वार बगलेकमा होमस्टे सञ्चालनको तयारी थालिएको हो ।
डोटीको पूर्विचौकी गाउँपालिका, होटल व्यवसायी संघ डोटी र पूर्विचौकी गाउँपालिका – २ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरधुरीबाट होमस्टे सुरु गरिने होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपकबहादुर खड्काले जानकारी दिए। बगलेकमा तत्कालै ठूला होटेलहरु सञ्चालनमा ल्याउन समस्या हुने हुँदा होमस्टेका माध्यमबाट पर्यटकहरुलाई सुविधा दिन स्थानीय घरहरुलाई छनौट गरिएको अध्यक्ष खड्काले बताए ।
यसै वर्षदेखि होमस्टे सञ्चालनका निम्ति गाउँपालिकाबाट तीन लाख र वडा नम्बर २ को तीन लाख गरी ६ लाख रुपैयाँ गाउँपरिषदबाट विनियोजित गरिएको छ ।
साथै थप आवश्यक लगानी होटल व्यवसायी संघ डोटीले बेहोर्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। होमस्टे सञ्चालनमा आएपछि स्वरोजगारको श्रृजना हुनुका साथै स्थानीय परिकार र सस्कृतिकोसमेत जगेर्ना हुने वडाअध्यक्ष योगेन्द्र ठकुल्लाले भनाई छ ।
प्रतिक्रिया दिनुहोस्