जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग,राईको योगदानको स्मरण यसरी गरियो

काठमाडौं । विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ ।

रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले विसं २००७ को क्रान्तिमा जननायक राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले उहाँलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे

विसं १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिनुभएका राई १५ वर्षकै उमेरमा विसं १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना भएका थिए । नौ वर्ष सैन्यसेवामा कार्यरत उहाँ पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किनुभएको थियो । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गरेका राई पछि राणा विरोधी जनक्रान्तिमा होमिएका थिए । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढंगले बेपत्ता पारिएका थिए ।

दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र सल्लाहकार पारुहाङ राई, राष्ट्रपति कार्यालयका अर्थविज्ञ धनहर्क राई, भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, नेकपा९एमाले० भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रेजीन श्रेष्ठलगायतको सहभागिता रहेकोे साहित्यकार शशि लुमुम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्