धनतेरसमा बिक्यो ६१ करोड रुपैयाँको सुनचाँदी
काठमाडौँ , कातिक १७ । गहना व्यवसायीका लागि महत्त्वपूर्ण मानिने धनतेरसको दिनमा ६१ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुन ५० किलो र २ हजार किलो चाँदी बिक्री भएको हो ।
‘मंगलबार प्रतितोला सुनको मूल्य ९२ हजार रुपैयाँ थियो ।महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकेको थियो ।व्यवसायीका अनुसार सुनभन्दा चाँदीको सिक्का बढी बिक्री हुन्छ । चाँदीको भाँडा, करुवा, प्लेटदेखि मानारपाथी बिक्री हुन्छ । कलस, कचौरा, दिया सबै प्रकारको माग बढ्ने व्यवसायीहरु बताउँछन् ।
धनतेरसका लागि सानो सिक्का भए पनि किन्ने र लक्ष्मीपूजाको दिन पूजा गर्ने प्रचलन छ । जसले गर्दा सुनचाँदीको गहनारसिक्का बिक्री हुनेमा व्यवसायीहरु आशावादी थिए । यसपटक कोभिड संक्रमण पनि घटेकाले व्यापार बढ्ने व्यवसायीहरु अनुमान गरेका थिए ।
महासंघका अनुसार गत वर्षको कात्तिकमा प्रतितोला सुनको मूल्य प्रतितोला ९५ हजारदेखि ९८ हजार २ सय रुपैयाँसम्म थियो । यसपटक कात्तिक १६ गतेको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । धनतेरस मुख्यतया भारतमा मनाइन्छ । बहुराष्ट्रिय कम्पनीका रुपमा भारतीय गहना व्यवसायी नेपाल आएपछि यहाँ पनि मनाइन्छ । शाक्यका अनुसार सर्वसाधारणले आफ्नो क्षतमा अनुसार सुनचाँदीको गहना, मूर्ति, सिक्का खरिद गर्छन् । सुनचाँदीका गहना खरिद गर्न नसक्नेले तामाका भाँडाकुँडा किन्ने प्रचलन रहेको उनले बताए ।
दुबई, हङकङ, स्विजरल्यान्डबाट नेपालमा सुन आयात हुन्छ । ती सुन वाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।
कार्यविधि अनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । गत वर्ष कोभिडकै कारण दैनिक कोटा १० किलो मात्रै थियो । गत वैशाखबाट थप १० किलो बढाएर २० पुर्याइएको छ । तर, तिहारमा उक्त कोटा अपुग भएको महासंघले जनाएको छ । महासंघका अनुसार सुनचाँदीको बिक्री लक्ष्मीपूजाको दिनसम्म हुन्छ ।
प्रतिक्रिया दिनुहोस्