एमाले-माओवादीका सांसदको संयुक्त बैठक बस्दै, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौं ।  एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठक आज बिहान बस्दैछ। एकीकरण प्रक्रियामा रहेका दुवै दलको सांसदहरुको संयुक्त बैठक पहिलो पटक बस्न लागेको हो। पार्टी एकता गर्ने निर्णय गरेका दुवै दल औपचारिक घोषणाको अन्तिम तयारीमा छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बोलाइएको बैठकलाई दुवै दलका पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी एकताको निर्णय गरेका एमाले र माओवादी केन्द्रका प्रमुख नेताले संसद बैठकमा समेत सोही अनुसार प्रस्तुत हुन निर्देशन दिने तयारी गरेको एक नेताले बताए।

बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्षद्वयसँगै  बैठकलाई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र एमाले नेता सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्नेछन्। संसदमा दुवै पार्टीबाट नयाँ अनुहारको समेत प्रतिनिधित्व रहेकाले बैठकमा शीर्ष नेताले संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई निर्देशन दिन बैठक आयोजना गरिएको हो।

निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ।

प्रतिक्रिया दिनुहोस्