झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या , आरोपमा एक पक्राउ

काठमाडौं, कात्तिक ९ । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् ।

मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफुक गर्ने क्रममा उनले श्रीमती र छोरीको हत्या गरेको बताइएको छ ।

घटनालगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्