होली पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो सन्देश
काठमाडौं। फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै जातीय तथा धार्मिक-सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गरेकी छिन् ।
उनले यो पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा मनाइने पनि उल्लेख गरेका छन्
प्रतिक्रिया दिनुहोस्