मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ निष्काशन
काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक ३ गतेसम्म कम्पनीले म्याद थप गर्ने छ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको रहेको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविक ९ बाह्रबिसे नगरपालिका ५, मामिङ गाविस (भोटेकोशी गाँउपालिका) मा रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहको छ ।
अहिले कम्पलीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ ।
आवेदकको संख्या धेरै भएकाले अहिले आईपिओ हात पार्न मुश्किल परेको छ तर यस कम्पनीमा भने धेरै कित्ता भएकाले सबै आवेदकले शेयर पाउने निश्चित प्रायछ ।
प्रतिक्रिया दिनुहोस्