अब औपचारिक रूपमै १८ मन्त्रालय, कुन मन्त्रालय कहाँ गाभिए ?

काठमाडौं  – सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय कायम भएको जानकारी गराउँदै त्यसैअनुरूप कामकारबाही अघि बढाउन निर्देश गरेको छ ।

छुट्टाछुट्टै अस्तित्वमा रहेका चार मन्त्रालय कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारणलाई गाभेर ‘कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय’ बनाइएको छ। यो मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि चार सचिव रहनेछन्। मन्त्रिपरिषदले गाभिएका मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो कार्यभार सम्हाल्ने गरी सबै सचिवलाई यथावत् राखेको जानकारी प्रधानमन्त्री कार्यालयका सचिव प्रेम राईले दिए।
कम्युनिस्ट गठबन्धन सरकारले चारवटा मन्त्रालय गाभ्दा ‘सहकारी तथा गरिबी निवारण मन्त्रालय’ को गरिबी निवारण हेर्ने संयन्त्र भने खारेज गरेको छ। उद्योग, वाणिज्य र आपूर्ति तीन मन्त्रालयलाई जोडेर ‘उद्योग, वाणिज्य तथा आपूर्ति’ मन्त्रालय बनाइएको छ। यसअघिका तीनवटै मन्त्रालयका सचिवलाई अर्को व्यवस्था नभएसम्म एकीकृत मन्त्रालयमै राखिएको छ। गाभिएका मन्त्रालयमा पछि एक जना मात्र सचिव रहनेछन्। बहालवाला सचिव अन्यत्र सरुवा या अवकास भएपछि मन्त्रालयमा एक जना मात्र सचिव रहने जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिए।
शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभिएको छ। एकीकृत मन्त्रालयको नाम ‘शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद’ राखिएको छ। यो मन्त्रालयमा समेत तीन जना सचिव रहनेछन्। श्रम तथा रोजगार र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई गाभेर ‘श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ। यो मन्त्रालयमा समेत अर्को व्यवस्था नभएसम्म दुई सचिव रहनेछन्। आजको कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्