थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौँ, असोज १९ । नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८२ जनाको पीसीआर परीक्षणमा ७६२ र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैबीच यता काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २३१ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ३० र ललितपुरमा ४१ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ३ हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २ हजार २६८, भक्तपुर जिल्लामा ६९१ र ललितपुर जिल्लामा ७८८ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्