थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, असोज १७ । बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित थपिएका छन् । सोहि अवधिमा १४०५ जना निको भएर घर गएका छन् ।

बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।

यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । यता काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २२२ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा १३ र ललितपुरमा २० संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ३ हजार ८८५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २ हजार २९७, भक्तपुर जिल्लामा ७४६ र ललितपुर जिल्लामा ८४२ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्