मलेसिया र सिंगापुरबाट अवैध ढंगले सुन ल्याउने १५ जना पक्राउ

काठमाडौं , असोज १२ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित पन्ध्रजनालाई पक्राउ गरेको छ । सिंगापुर र मलेसियाबाट आएका पन्ध्र जना यात्रुबाट सो परिमाणको सुन बरामद गरेको हो ।

उनीहरुले भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथाबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद् गरेको छ ।

पक्राउ परेकाहरुले उक्त सुन आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीसँगको बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौंसम्म पुर्‍याइदिन भनेको र सोही अनुसार आफूहरुले काम गरेको बताएका छन् ।

त्रिअवीमा सम्बन्धित व्याक्ति बुझ्न आउने भनेपछि आफूहरुले सुन ल्याइदिन तयार रहेको उनीहरुको भनाइ छ । मलेसिया र सिंगापुरमा सुन दिने व्यक्तिहरु आफूहरुले नचिनेको समेत उनीहरुले दावी गरेका छन् ।

मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा प्रहरीले शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो । अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट आइतबार शंकास्पद १५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले मलेसिया र सिंगापुरको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले उक्त सुन दिइ पठाएको र काठमाडौं विमानस्थल वरपरका होटलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनू भनेको प्रहरीसँगको बयानमा भनेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुनसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्