धनगढीको नवजीवन अस्पतालमा २६ वर्षीया सुत्केरीको मृत्यु, ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

काठमाडौं, असोज १० । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ । तर मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिशेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्