कांग्रेसले थप ५ जिल्लाको सदस्यता विवाद टुंग्यायो, ५४ जिल्लामा पालिका अधिवेशन सकियो

काठमाडौं , असोज १० । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । हिजो महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो ।

विवाद टुंगो लगाएर विवरण समितिलाई बुझाइएका जिल्लामा आजै निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलाली रहेका छन् ।

कांग्रेसले दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । सोही अनुसार हिजोदखि गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो ५४ जिल्लाको पालिका अभिवेशन सकिएको छ । काठमाडौमा वडा अधिवेशन सम्पन्न भएपनि अन्तिम परिणाम प्राप्त नभएकाले पालिका अधिवेशन असोज १६ गतेका लागि तय गरिएको छ । कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्