संघीय फोरम सरकारमा जान तयार:सहमतिपत्रमा आजै हस्ताक्षर ,सहमतिको प्रारम्भिक खाका यस्तो छ ,

काठमाडौं ।  संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनेबारे आज लिखित सहमति हुनेभएको छ । संविधान संशोधन गरेर फोरमलाई सरकारमा ल्याउन सहमत भएका सत्तारुढ दल र फोरमबीच लिखित सहमति हुनेभएको हो ।

सत्तारुढ दल र फोरमबीचको छलफल निष्कर्षउन्मुख पुगेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ ।

सरकारमा सहभागिताका लागि फोरमले संविधान संशोधन, विगतमा भएको २२ बुँदे सम्झौता कार्यान्वयनलगायत सर्त राखेको छ । गठबन्धनले भने आवश्यकताका आधारमा संविधान संशोधनका लागि तयार हुने, कार्यदल गठन गर्ने र समझदारीमा मन्त्रालय भागबन्डा लगाउने गरी फोरमलाई सरकारमा ल्याउने तयारी गरेको छ ।

एमाले र फोरमका नेता सम्मिलित अनौपचारिक कार्यदलले तयार पारेको सहमतिको प्रारम्भिक खाका यस्तो छः

१. संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्ने विषयलाई उचित समयमा संशोधन गर्ने।

२. आपसी सहमतीका आधारमा संशोधनको प्रक्रिया अगाडि बढाउने।

३. संविधान संशोधनका एजेन्डामा आधारित माग र मुद्दालाई सरकार आफैंले अगाडि बढाउने।

४. फोरमसहितको सहभागितामा नयाँ सरकारको नीति र कार्यक्रम ल्याउने।

५. संघीय समाजवादी फोरम ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्