संसद् सचिवालयले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं संघीय संसद् सचिवालयले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्ने भएको छ । सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो २ बजे छलफलका लागि दलहरुलाई बोलाएको छ ।

संघीय संसद्को निर्वाचनपछिको पहिलो अधिवेशन भएका कारण दलसँग छलफल गर्न लागिएको हो । दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ । प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत लिने काम सकिएपछि सरकारले दिने कार्यव्यापारका आधारमा संसद् बैठकको कार्यसूची तय हुनेछन् ।

दुवै सदनको पहिलो बैठक र त्यसपछिका केही बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल हुने संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

पहिलो बैठकमा राष्ट्रपतिको अधिवेशन आह्वान पत्र पढेर सुनाउने, अन्तरिम कार्य्विधि पारित गर्ने, दलीय आधारमा प्रत्येक दलका एकजनालाई बोल्न समय दिने कार्यसूची संसद् सचिवालयले तयार गरेको छ ।

सचिवालयले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल गरी राष्ट्रिय मान्यता प्राप्त पाँच दल र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसदसँग छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्