राष्ट्रपतिको निर्वाचनः प्रदेश सांसदले काठमाडौंमै आएर मत हाल्नुपर्ने

काठमाडौं । राष्ट्रपति चयनका लागि फागुन २९ हुने निर्वाचनमा मतदान गर्न प्रदेशसभाका सदस्य काठमाडौं आउनुपर्ने भएको छ । मतदान संघीय संसद् भवन बानेश्वरमा हुने भएपछि संसद्का सदस्यसहित प्रदेशसभा सदस्य काठमाडौं आउनुपर्ने भएको हो ।

प्रदेशमा मतदान गर्न व्यवस्थापकीय असहजता रहेकाले केन्द्रमा नै मतदान हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार संघीय संसद् भवनमा नै राष्ट्रपति निर्वाचन हुनेछ । प्रदेशमा थोरै मतदाता रहेकाले हरेक प्रदेशमा मतदान अधिकृतसमेत राख्नुपर्ने अवस्थाका कारण केन्द्रमा नै निर्वाचन गर्न लागिएको प्रवक्ता ढकालले बताए ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद मतदाता रहने व्यवस्था छ । तर, तिनै तहका मतदाताकोे मतभार भने फरकफरक हुनेछ । आयोगले निर्वाचनका लागि फागुन २१ गते मतदाता नामावली प्रकाशित गर्ने, २३ गते मनोनयन दर्ता र २९ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्