मुग्लिन–नारायणगढ सडकमा जाम, काठमाडौं – पोखरा चल्ने गाडी पनि प्रभावित

काठमाडौं।  मुग्लिन नारायणगढ सडकखण्डमा बिहानैदेखि गाडीको चाप बढेको छ ।

बाटो विस्तारका क्रममा खनिएको माटो सडकमा त्यसै छोडिदिँदा जाम हुने गरेको त्यहाँ खटिएका प्रहरीले जनाएका छन् । बाटो विस्तारसँगै ठाउँ ठाउँमा गाडी बिग्रिएकाले आज आवागमनमा थप समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो सडकखण्डको जामका कारण पोखरा र काठमाडौं आवतजावत गर्ने गाडी पनि प्रभावित भएका छन्  । साँघुरो सडक, साना पुल, विस्तारका क्रममा खनिएको माटो तत्काल नहटाउँदा र  गाडी बिग्रने समस्याले यो सडकखण्डमा हरेक दिन यात्रुले समस्या भोग्ने गरेका छन् । यस्तै दुर्घटनाका कारण सिद्धिचरण राजमार्गमा पनि गाडीको आवागमन प्रभावित भएको छ ।

ओखलढुंगाको माने भञ्याङमा राति नौ बजे बा ३ ख १७३ नम्बरको बस र ना ५ ख ६३८५ नम्बरको ट्रक आसपमा ठोक्किदा यो खण्डमा गाडी चलेको छैन । ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएकामा १३ जना उपचार पछि घर फर्किएका छन् ।

गम्भीर घाइते बर्दियाका  ४५ वर्षका रुन्चे थारुको काठमाण्डूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस भीरमा अड्किएको र ट्रक बीच बाटोमा नै भएको बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्