विकास रणनीति स्पष्ट नहुँदा पुँजीगत बजेट खर्च गर्न चुनौती भयो: अर्थमन्त्री शर्मा

काठमाडौं, असोज ५ । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन्। मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको बताएका हुन्। उनले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजीगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको औंल्याए ।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैँसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूलाई र मन्त्रालयहरूले सम्बन्धित परियोजनालाई आवश्यकताअनुसार बजेट हेरफेर गर्न दिनुपर्ने उनको भनाइ रहेको छ ।

आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उनले उल्लेख गरे।समग्र विकास रणनीति नै स्पष्ट नभएको बताउँदै अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको पनि जानकारी दिए ।

खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ।  साथै शर्माले उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुला गर्नुपर्ने बताए। राष्ट्र र जनताको अहितसँग सम्बन्धित सर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्