फोरमलाई सरकारमा सहभागी गराउन आज सहमति हुने: फोरमले कति र कुन मन्त्रालय पाउदै छ त ?

काठमाडौं ।  संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन्  ।

सोमबार सत्तारुढ दल र फोरमबीच भएको छलफल निष्कर्षउन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए  । ‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउन्मुख भएको छ  । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ  ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगतदेखि नै लचक रहेकाले फोरमसँग सहमतिनजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउनेछन् ।

फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा रामसहाय यादवबीच छलफल भएको थियो  ।

फोरम सहभागी भएसँगै मन्त्रालय भागवण्डा

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने पक्का भएसँगै एमाले र माओवादीले भागवण्डा गरेका मन्त्रालयमा हेरफेर हुनेभएको छ । परराष्ट्रसहित राज्यमन्त्री दिने गरी सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको आकांक्षा देखिए पनि फोरमले भने परराष्ट्रसहित २ मन्त्रालयको माग गरेका थिए ।

दुई पार्टीको लागि भएका मन्त्रालयको भागबण्डामा परराष्ट्र एमालेको भागमा परेको थियो । माओवादीको भागमा परेको ७ मन्त्रालयवाट १ मन्त्रालय फोरमलाई दिई २ मन्त्रालयसहित फोरमलाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्