दैलेखमा आमा–छोराले सँगै दिए कक्षा १२ को परीक्षा
काठमाडौं, भदौ ३१ । । दैलेखमा आमा–छोराले कक्षा १२ को परीक्षा सँगै दिएका छन् ।
बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा दैलेखमा पनि आमा र छोरा सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।
जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिए ।
टीकाकुमारीले भनिन्, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ ।” नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएकोे छ ।
प्रतिक्रिया दिनुहोस्