संघीय सांसदहरुद्धारा २० गते सपथ कार्यक्रम, दुवै सदनका जेष्ठ सदस्यले सपथ गराउने

काठमाण्डौं । संघीय संसदका नवनिर्वाचित सदस्यहरुले यही फागुन २० गते सपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन २० गते नवनिर्वाचित सदस्यहरुको सपथ लिने व्यवस्था गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार अधिवेशन अघिनै सपथ गर्नुपर्ने भएकाले फागुन २० गतेनै सपथग्रहण कार्यक्रम आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए । फागुन २० गते ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रियसभाका सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्बन्धित सभाकै हलमा राखिएको छ ।

दुवै सदनका जेष्ठ सदस्यले सम्बन्धित सभाका सदस्यहरुलाई सपथ गराउने छन् । दुवै सदनको जेष्ठ सदस्यलाई भने राष्ट्रपतिले सपथ गराउनु हुने पनि प्रवक्ता गौतमले बताए । प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी, नेपालका ८० वर्षीय महेन्द्रराय यादव जेष्ठ सदस्य रहेका छन् भने राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य रहेकी छन् ।

संघीय संसद सचिवालयले संसदको पहिलो अधिवेशन सम्पन्न भएलगत्तै प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचनको कार्यसूचि तय गर्ने कार्यविधि पनि तयार पारेको छ ।

संवैधानिक व्यवस्थाअनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष चयन गरिसक्नुपर्ने भएकाले संघीय संसद सचिवालयले सोही अनुसारको कार्यविधि तय गरेको हो ।

कार्यविधिलाई अन्तिम रुप दिन बुधबार २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग परामर्श गर्न लागिएको पनि सचिवालयका प्रवक्ता गौतमले बताए । सरकार गठन भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसको मिति तय गर्न पनि संसद सचिवालयले दलहरुसँग बुधबार परामर्श गर्न लागेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति पनि तय गरेर अघि बढने संसद सचिवालयको तयारी छ । प्रतिनिधिसभामा कूल २ सय ७५ र राष्ट्रिय सभामा ५९ जना सदस्य रहेका छन । फागुन २१ गते दुवै सदनको संयुक्त बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्