नेताहरूका “बाद” का कुरा
आजको संसारमा अब्राहम लिङ्कनको प्रजातन्त्रको व्याख्या अनुसार जनताद्वारा निर्वाचित नेतृत्व नै देशको सहि नेता हुन सक्छन भन्ने मान्यता अनुरूप हालै नेपालमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । यसै अनुरूप वास्तवमा भन्नु पर्दा नेपालमा २०१५ सालदेखि हालै भएको आम निर्वाचनको काल खण्डसम्ममा आई पुग्दा धेरै चुनावहरू भए र नेताहरूको चयन पनि हुदै आयो । जसरी पञ्चायतकालमा २५ वर्षसम्म लगातार राष्ट्रिय पञ्चायतको सदस्य भएवापत निजामति सेवामा २५ वर्ष सेवा गरेपछि दिर्घ सेवा पदक पाए सरह केहि पञ्चायति नेताहरूले तक्मा पाएका थिए ।
२०४६ सालको राजनैतिक परिवर्तन पछि आएको बहुदलिय व्यवस्थामा पनि विभिन्न दलका नेतृत्वहरूले आर्यघाटमा मात्र नेतृत्व हस्तान्तरण बुझाउने पञ्चायति नेतृत्वको शैलि भन्दा खासै परिवर्तन हुन सकेन । हालै सम्पन्न भएको आम चुनावमा प्रजातान्त्रिक गठबन्धन खेमाका नेतृत्वहरूबाट बाम गठबन्धनप्रति लगाईएको चुनावी आरोप बाम गठबन्धनले जितेमा नेपालमा सर्वसत्तावाद लागू हुन्छ भन्ने छ । यदि त्यसरी नै बाम गठबन्धनबाट भएमा अब आउने नयाँ सरकारबाट आर्यघाटमा नेतृत्व हस्तान्तरण गर्ने प्रबृत्तिको अन्त्य होला त ? नेपालमा सबै वर्ग समूदायहरूले साच्चैको प्रजातन्त्रको फल चाख्न पाउलान त ? हालै सम्पन्न भएको चुनावि मेलामा विभिन्न पक्षविच लगाईएको आरोप र प्रत्यारोपले नेपाली जनमानसमा चिन्ता बढाएको छ । कसैले कसैलाई सर्वसत्तावादि अधिनायकवादि भनेका छन् भने कसैले लम्पसारवादि, दक्षिणवादि, उत्तरवादि, पश्चिमवादि, एनजिओवादि ईत्यादि भनेको सुनियो र यस बाहेक कयौं नयाँ शब्दहरू पनि नेपाली शब्दकोषमा जन्मिएका छन् ।
वास्तवमा भन्ने हो भने कुनै पनि देश विकासको लागि कुनै पनि वादको आवश्यक पर्दैन सिर्फ एउटा वाद भए पुग्छ, त्यो हो बलियो राष्ट्रवाद । चुनावि भाषणमा एक अर्काप्रति लगाएका वादको आरोप सिर्फ जनतालाई उत्तेजित र आकर्षित गरेर भोट बटुल्ने, अल्छि र स्वार्थी नारा बाहेक अरू केहि हुनै सक्दैन ।
“ विकासको लागि कुनै पनि वादको आवश्यक पर्दैन सिर्फ एउटा वाद भए पुग्छ, त्यो हो बलियो राष्ट्रवाद ।”
संसारको ईतिहासको लेखा जोखा गर्ने हो भने मलेशियाको समग्र विकासको लागि महाथिरको नेतृत्वमा त्याहा कुन वाद थियो ? लि क्वा नुनले सिंगापुरको विकासको लागि कुन वादको अनुशरण गरे ? उनिहरूले समग्र रूपमा आ-आफ्नै राष्ट्रवादलाई सिरोपर गरेर सबैलाई समेटेर नै त देश विकास गरे । उनिहरू कहिले काहि बाह्य दृष्टिकोणमा क्रुर पनि देखिए । तर पनि उनिहरूले राष्ट्र र राष्ट्रियताको सवालमा कसैसंग सौदावादि गरेनन् । आफ्ना जनतालाई धोका दिएनन् र विचलित पनि भएनन् । वास्तवमा देशको समग्र विकास गर्न कस्सिने नेतृत्वले राष्ट्र र राष्ट्रियताको सवालमा कसैको मुलाहिजामा लागेर कुनै प्रकारको सौदावादि गर्न हुन्न । राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर अगाडि बढ्ने नेतृत्व कहिले काहि उत्तारचढाव त होला तर विचलित हुनु पर्दैन । त्यस्ता नेतृत्वलाई सम्पूर्ण जनताले साथ दिने छन् । यसको उदाहरणको लागि नेल्सन मण्डेलालाई लिन सकिन्छ ।
नेपाल राष्ट्र र राष्ट्रियताको संरक्षण र सम्वर्धनको लागि त्यस बेलाको समय र परिस्थिति अनुरूप बडामहाराजा पृथ्वीनारायण शाह र राजा महेन्द्रले खेलेका भूमिका, प्रजातान्त्रिक अभ्यास सहित समसामयिक भू–राजनीतिलाई मनन् गर्दै तत्कालिन राजा वीरेन्द्र, वि.पि. कोईराला, मनमोहन अधिकारी र मदन भण्डारीले खेलेको भूमिकामा नेपाली जनताले साथ दिएकै हुन् । आज नेपाली जनमानसमा ति घटनाहरू झलझली सम्झनामा आईरहेको छ । हालै भएको चुनावी भाषणमा बाम गठबन्धनका शिर्ष नेतृत्वबाट नेपाली कांग्रेसले देश निर्माणमा बि.पि.को धार छाडि सक्यो अब हामी त्यो धार पनि लिएर अगाडि बढ्ने छौं भनेको सुन्दा जनमानसमा अर्को एउटा नयाँ राजनीतिक तरंग आएको छ । चुनावको नतिजाले पनि केहि संकेत गरेको छ । यसको लेखाजोखा भविष्यमा हुने नै छ ।
मुलुक भित्र रहेका विभिन्न समूदायहरूलाई एउटै सुत्रमा बाँधेर समग्र देश विकाशको लागि अगाडि बढ्ने र बढाउने मूल मन्त्र नै बलियो राष्ट्रियता हो । नेपालको ईतिहासमा हालको दिनमा जस्तो कमजोर राष्ट्रियता कहिल्यै नभएको हामी सबैमा महशुस भईसकेको छ । यसै अवसरमा बाह्य शक्तिहरू आ-आफ्ना स्वार्थ पूर्ति गर्न, नेपालको राष्ट्रियता बलियो पार्ने खम्बाहरू ढाल्न र हल्लाउन सफल भएको हामी सबैले मनन् गरिसकेका छौं ।
“बाह्य शक्तिहरू आ-आफ्ना स्वार्थ पूर्ति गर्न, नेपालको राष्ट्रियता बलियो पार्ने खम्बाहरू ढाल्न र हल्लाउन सफल भएको हामी सबैले मनन् गरिसकेका छौं ।”
हालै सम्पन्न भएको आम निर्वाचनमा विगतका सबै कुराहरूलाई विर्सिएर नेपालको राष्ट्रियता बलियो पार्नु पर्छ भन्ने तर्फ जनलहर आकर्षित भएको झिनो संकेत देखिएको छ । यसमा विजयी नेतृत्वहरूले पनि महशुस गरेकै होलान् । २०६२/०६३ को परिवर्तन पछि हाम्रा धेरै संरचनाहरू, जिम्मेवार निकायहरू खल्बलिएका र गुजुल्टिएका छन् । अब बन्ने नयाँ सरकारले अबिलम्व ति संरचनाहरू र निकायहरूलाई कसैको मुलाहिजामा नफसि एक/एक गरेर केलाउन र दरिलो पार्न गहकिलो कदम चाल्नै पर्दछ । ताकि अखण्ड नेपाल भित्र तिम्रो र मेरो भन्ने वातावरण नबनि हाम्रो र राम्रो नेपाल भन्ने लहर आवश्यक छ । अन्यथा नया“ सरकार बनेसंगै नयाँ द्वन्दको सुरूवात भएमा फेरि जनता निरास हुने छन् ।
नेपालको विगतका चुनावहरूलाई नियाल्दा हरेक चुनावमा जनतालाई आकर्षित पार्ने, नयाँ/नयाँ आस्वासनहरू बाँडी जनताको मत लिई व्यक्ति वा दल विजय हुने र त्यसपछि दलहरूले कुनै पनि बाचालाई वास्तै नगरी देश र जनताहरूलाई निरास पार्ने काम भएको छ । फेरी पनि त्यहि प्रबृत्ति भएमा नेपाल झनै कमजोर हुने छ र बाह्य हस्तक्षेप झनै बढ्ने छ । राष्ट्र कमजोर हुँदा बाह्य हस्तक्षेप कसरी बढ्छ र राष्ट्रियतालाई कसरी झनै कमजोर पारिन्छ भन्ने उदाहरण हाम्रो छिमेकी देशमा तत्कालिन ब्रिटिस सरकारले अपनाएको एउटा तरिकालाई उदाहरणको रुपमा लिन सकिन्छ ।
भारत ब्रिटिस उपनिवेस बनेपछि भारतका लोक नायक जयप्रकाश नारायण पट्नाको एउटा कलेजमा पढ्दै थिए । त्यस कलेजका हेडमास्टर बिटमोर (Bitmore) एक क्रिस्चियन थिए । उनले भारतीय परम्परा अनुसार दिपावलीको दिनमा हुने कलेज बिदालाई बिदा नगरी त्यसै दिन कलेजमा परिक्षा हुन्छ भन्दा यसमा जयप्रकाश नारायणले विरोध गरे । विरोध गरेवापत उनले हेडमास्टरको पिटाई पनि खाए । हेडमास्टरबाट तल्लोस्तरको गाली र पिटाई खाएता पनि उनले आफ्नो अडान छाडेनन् र दिपावलीको दिन कलेज बिदा गराई छाडे र सबै बिद्यार्थीहरूले आफ्नो परम्परा अनुसार पहिलाको वर्षमा भन्दा झनै धुमधामका साथ जयप्रकाश नारायणकै नेतृत्वमा दिपावली मनाएर सबैलाई देखाई दिए ।
नेपालमा पनि विशेष गरी २०६२/०६३ को राजनैतिक परिवर्तन पछि यी र यस्तै कयौं कुराहरूमा जानीनजानी हाम्रां नेतृत्वहरूले हात हाल्ने काम गरे । जसले गर्दा अनेकतामा एकता भएको नेपाली समाज खलबलिएको र केहि भत्किएको पनि छ । जसले गर्दा आपसि फुट र गुटमा नेपाल जाने संकेत देखिएको छ । यसलाई समयमा नै अब बन्ने नयाँ सरकारले मनन गर्नै पर्ने देखिन्छ । अन्यथा नेपालमा भोलिका दिनमा फेरी नयाँ रूपको द्वन्द नहोला भन्न सकिन्न ।
(धमला नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुनुहुन्छ)
[email protected]
प्रतिक्रिया दिनुहोस्