कर्णालीमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु , ११ जना घाइते, ४ को अवस्था गम्भीर

काठमाडौं, भदौ १३ । कर्णाली करिडोरमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज भएको दुर्घटनामा परी ११ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सान्नी त्रिवेणी गाउँपालिका*२ रकु सेरिजीउला घर भएका २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।खुलालु लैफू सडकखण्ड अन्तर्गत कालीकोटको सान्नीत्रिवेणी-२ रकु आमतडामा क १ ज २३ न को जीप आमतडाको उकालोमा चढ्न नसकेर कर्णाली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

शाहका अनुसार उकालोमा आमतडाको ढुंगाको चट्टान भएको उकालोमा जीप चढ्न नसकेर पछाडी गुडेर कर्णाली नदीको किनारामा खसेको हो ।करिडोरको भौरेकुनामा पनि पहिरो खसेकोले घाइतेलाई अस्पताल ल्याउन नसकिएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।

उनले हेलिकप्टरको लागि कुरा भए पनि प्रतिकूल मौसमले हेलिकप्टर आउनसक्ने अवस्था नरहेपछि जिल्ला सदरमुकाम मान्मबाट प्रहरी निरिक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरीलाई घटनास्थल पठाइएको बताए ।
कर्णाली करिडोर खुलालु(लैफू(सल्लीसल्ला सडक वर्षाले ठाउँ ठाउँमा अवरुद्ध छ ।

करिडोरको ठाउँठाउँमा पहिरो खसेर हिलाम्मे भएकाले अवरुद्ध भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले बताए ।  कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२. ७५ किमि सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेर गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्