रेशम चौधरी कारागार चलान

काठमाडौं। टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसदसमेत रहेका चौधरीलाई न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । १६ गतेका लागि अर्को पेशी तोकिएको छ ।

जिल्ला अदालत कैलालीमा बिहान ११ बजे उपस्थित भएका चौधरीको लामो समयसम्म बयान चलेपछि वादी र प्रतिवादीका अधिवक्ताबीच बहस भएको थियो । चौधरीको तर्फबाट अधिवक्ताहरु मिलनकुमार राई, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहस गर्नुभएको थियो भने सरकारको तर्फबाट जिल्ला न्यायाधीवक्ता प्रकाशबहादुर भण्डारीसहितका अधिवक्ताहरुले बहस गरेका थिए ।

चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, उनले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । २०७२ भदौ ७  गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो ।

चौधरीसहित ५६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाक चोरी मुद्धा लगाइएको छ । २५ जना जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सूचिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्