नेपालमा कोरोना सक्रिय  संक्रमितको संख्या झन्डै ४० हजार पुग्यो, एकतिहाइ  कामाडौंमा

काठमाडौं , भदौ ६ । नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या झन्डै ४० हजार पुगेको छ । त्यमध्ये एकतिहाइ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

मन्त्रालयको शनिबार ९हिजो०सम्मको तथ्यांकानुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा ११ हजार ४३६ संक्रमित छन् ।

काठमाडौं जिल्लाका अस्पतालहरूमा मात्रै एक हजार ६११ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

नेपालमा पछिल्लो समय दैनिक संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढी छ । सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेका जिल्लालाई कोभिड संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ ।

नेपालमा अहिले काठमाडौं उपत्यकाका तीनसहित मोरङ, सुनसरी झापा, चितवन, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेत र कैलालीलाई रेड जोनमा राखिएको छ ।

त्यस्तै, १७ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांक छ । नेपालमा शनिबारसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्