सयौं वर्ष पुरानो बुद्धको मूर्तिसहित पाँच जना पक्राउ

काठमाडौं, भदौ ३ । बर्दियामा बुद्धको मूर्तिसहित पाँच जना पक्राउ परेका छन् । बिहीबार बर्दियाको गुलरिया नगरपालिका–७ स्थित विजय गेष्ट हाउसबाट प्रहरीले सयौं वर्ष पुरानो मूर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ७ का ४० वर्षीय निराजन उप्रेती, बर्दिया मधुबन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, ३४ वर्षीय अमृत राई, बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली छन् ।

पुरानो बहुमूल्य धातुको मूर्ति करोडौं रुपैयाँमा किनबेच गर्न लागेको सूचनाका आधारमा पक्राउ गरिएको बर्दियाका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । उक्त होटलको कोठा नं। ३२८ मा चेकजाँच गर्दा किनबेचको तयारी भइरहेको थियो । बरामद गरिएको पुरातत्विक मूर्ति ७ किलो ७०२ ग्राम तौल र ९।५ इञ्च उछाइको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्