नुवाकोट र रसुवामा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता

काठमाडौँ, भदौ ३। नुवाकोट र रसुवामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आज बिहान २स्३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।

यस्तै रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन्।

पहिरोले घाइते भएका ३६ वर्षीय श्यामबहादुर तामाङका अनुसार पहिरोले उनकी श्रीमती, दुई छोरी र एक छोरा बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी देवेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्