पार्टी एकताकाे सैद्धान्तिक प्रस्ताव लेखन सुरू

काठमाडाैं  । एमाले र माओवादी केन्द्रको कार्यदलले आजदेखि एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन सुरू गर्ने भएको छ ।

दुवै पार्टीको राजनीतिक प्रतिवेदन अध्ययन गरेर आजदेखि दस्तावेज लेखन सुरु गरिने एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अंगीकार गर्दै आएको ‘माओवाद’ र एक्काइसौं शताब्दीको जनवाद’का साझा र आधारभूत विषयका आधारमा सैद्धान्तिक प्रतिवेदन तयार पारिनेछ ।

एकताका लागि तयार पारिएको सातबुँदे सहमतिपत्रमा माक्र्सवाद र लेनिनवादलाई अंगीकार गर्ने विषय समेटिएकाले पनि कार्यदललाई सैद्धान्तिक प्रतिवेदन तयार पार्न सहज हुने बताइएको छ । दुवै पार्टीका सबै दस्तावेजलाई एकीकृत गरेर अध्ययन गर्ने र साझा धारणा बनाउने योजनामा कार्यदल छ ।

गत फागुन ७ गते दुई पार्टीले पार्टी एकताको सातबुँदे आधारपत्रमा हस्ताक्षर गरेका थिए । कार्यदलले तोकिएको अवधिभित्रै काम सकेर प्रतिवेदन बुझाउने र फागुनको अन्तिम साताभित्रै एकीकृत पार्टीको घोषणा गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्