अशक्त तथा असमर्थ नागरिकलाई घरमै पुगेर कोभिडविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन २९ । कोरोना महामारीविरुद्धको खोप अभियान अहिले विश्वरभर चलीरहेको छ । चल्ने क्रममै नेपालमा पनि जारी रहेकोछ ।

यसैबीच सर्वोच्च अदालतले ज्येष्ठ नागरिक, दीर्घरोगी र फरक क्षमता भएकालगायतलाई घरघरमै पुगेर कोरोना कोभिड- १९ विरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सरकारका नाममा शुक्रबार यस्तो आदेश दिएको हो।

‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरूसमेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नू–गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।

आदेशमा आदेश जारी गर्नु नपर्ने कारण भएमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई कारणदेखाऊ आदेशसमेत जारी गरेको छ। यता एकातिर खोप नपाएको भन्दै पर्दशन पनि भइरहेको छ । आज खोप लगाउन पाउनु पर्ने माग गर्दै शिक्षकहरुले काठमाडौंमा पर्दशन गरेका छन् ।

यसैबीच कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ लाख २२ हजार २४० जनाले पूर्ण डोज प्राप्त गरिरहेका छन् । राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा। झलक शर्मा गौतमले करिब ४५ लाख ९३ हजार हजार ५२६ जनाले खोपको पहिलो मात्रा पाएको बताउनुभयो ।

नेपालमा तीन प्रकारको खोप सञ्चालन भइरहेको छ । जसमा कोभिशिल्ड, जोन्सान एण्ड जोन्सन र भेरोसेल खोप सञ्चालमा छ । बिहीबारसम्म २९ लाख २२ हजार २४० जनाले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्