आजदेखि २४ जिल्लामा हात्तीपाइले राेगविरुद्धको औषधि खुवाउँदै

काठमाडौं । सरकारले हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान आज(शनिबार)बाट सुरु गरेको छ ।

२४ जिल्लामा शुरु गरिएको औषधि खुवाउने अभियान तीन दिनसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ र उदयपुरमो यो अभियान शुरु गरिएको हो ।

त्यसैगरी लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियान चलाइएको महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन ।

हात्तीपाइले विरुद्धको औषधी खाली पेटमा यो औषधि नखान पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो । अहिलेसम्म १० करोड मात्रा औषधि प्रयोग भइसकेको छ ।

यस पटक २४ जिल्लाका ९१ लाख ५४ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

हात्तीपाइलेका कति विरामी छन् भन्ने एकीन तथ्यांक नभए पनि सरकारले सम्भावित जिल्ला तय गरेर हरेक वर्ष औषधि सेवन गराउँदै आएको छ ।

अभियान सफल बनाउन सरकारले ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ जना स्वयम् सेवक परिचालन गरेको छ ।

२४ जिल्लाका लागि ३८ करोड ३५ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्