सरकारमा माओवादी केन्द्रको नेतृत्व बादलले गर्ने

काठमाडौं- माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ। माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा संगठन विभाग प्रमुख बादलले नेतृत्व गर्ने विषय पक्का गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा बिहान नेता नारायणकाजी श्रेष्ठ र बादलसहित बसेको बैठकले मन्त्रीहरुको नाम छनोट गर्न भने सकेन।

माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रीको छनोट गर्ने जिम्मेवारी शीर्ष तीन नेतालाई दिएको थियो। माओवादी स्रोतका अनुसार मन्त्रालयको बाँडफाँट नटुङ्गिएकाले मन्त्रीहरु छनोट हुन नसकेको हो।

नयाँ सरकारमा माओवादीले ७ मन्त्रालय पाउनेछ। जसमा सरकारको नेतृत्व बादलले गर्ने पक्का भएको छ। तर, बादलले पाउने मन्त्रालयबारे खुलाइएको छैन। बिहानको बैठकले मन्त्री छनोटको जिम्मेवारी पार्टी अध्यक्ष दाहाललाई दिएको छ। दाहालले शिनबारसम्म मन्त्रालयको टुङ्गो लगाएर मन्त्रीको छनोट गर्ने माओवादी केन्द्रका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्