काठमाडौंको भृकुटीमण्डपमा प्रथम वृहत जुत्ता चप्पल औद्योगिक मेला तथा प्रदर्शनी शुरु
काठमाडौ । काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि प्रथम वृहत जुत्ता चप्पल औद्योगिक मेला तथा प्रदर्शनी शुरु भएको छ ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले आयोजना गरेकोे मेलाको उद्घाटन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले गर्नु भएको हो ।
यस प्रकारका मेलाले नेपालमा उत्पादित जुत्ता चप्पल हरुको प्रवद्र्धनका साथै उपभोक्तालाई समेत विशेष फाइदा हुुने र मेला हेर्न आउनेहरुको मनजित्ने विश्वास मेला आयोजकको रहेको छ । मेलामा जुत्ता चप्पल किन्ने मानिसहरुको भिड बढ्दै गएको छ ।
मेलाको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष एवं आयोजक संघको समेत अध्यक्ष नरेश कटुवालले नेपालमै उत्पादन भएका जुत्ताचप्पलाई सरकारले प्रवद्र्धनमा सहयोग र उपभोक्ताले माया गरेमा राज्यलाई करमा वृद्धिका साथै रोजगारीको सृजनामा टेवा पुग्ने बताउनु भयो ।
उहाँले राज्यले जुत्ता चप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा न्यून कर निर्धारण गर्नुपर्ने कुरामा जोड दिंदै भन्नुभयो, ‘यसरी व्यवसायीले समान निर्यात गर्दा राज्यलाई विदेशी मुद्रा समेत आर्जन हुन्छ ।’ उहाँले मेसीनरी सामान ल्याउँदा भन्सारमा छुटको व्यवस्था गर्न, फुट वयर जोन तत्काल घोषणा गर्न, साना तथा मझौला व्यवसायीलाई सहुलित ऋण उपलब्ध गराउन र उद्योग मैत्री वातावरण बनाउन राज्यसंग जोडदार माग गर्नुभयो ।
कार्यक्रममा मेलाका संंयोजक तथा केटिएम सुज प्रा.लि.का प्रबन्ध निर्देशक प्रमोद महतोले नेपाली ब्राण्डका जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्दै ग्राहकलाई एकै थलोबाट सस्तो मूल्यका जुत्ता चप्पल विक्रि गर्ने उद्देश्यले जुत्ता चप्पल मेला सञ्चालन गरिएको बताउनु भयो ।
मेलामा उपभोक्ताले १५ देखि २५ प्रतिशतसम्म छुटसहित जुत्ताचप्पल खरिद गर्न सक्नेछ । महिला तथा पुरुषका लागि आधुनिक डिजाइनका जुत्ताचप्पल प्रदर्शनी तथा बिक्रिमा राखिने मेला संयोजक महतोले बताउनु भयो । मेलामा उच्च प्रविधिबाट उत्पादन गरिएका जुत्ताचप्पल ग्राहकले छुट मुल्यमा खरिद गरी लाभ लिन सक्ने जानकारी दिनुभयो ।
उहाँले दक्ष शनशक्ति उत्पादनको लागि घरेलु तथा साना उद्योगले धेरै रकम खर्चको र त्यो खर्च सहि ठाउँमा लगानी नभएको जनाउदै राज्यले सञ्चालन गर्ने हरेक तामिल तथा प्रशिक्षणमा व्यवसायीसंग सहकार्य गर्नुपर्ने बताउँदै भन्नभयो, ‘ दक्ष जनशक्ति उत्पादनको नाममा राज्यको धेरै लगानी गर्दै आएको छ । तर त्यसले जनतालाई राहत महशुस भएको छैन ।’ उहाँले यसलाई पारदर्शी र सहि सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका का.वा. अध्यक्ष खुमराज ढुङ्गानाले नयाँ मोडलका स्वदेशी जुत्ता चप्पल उत्पादनका बारेमा उपभोक्तालाई स्थलगत अवलोकन गराई बजार विस्तार गर्नु मेलाको आयोजना गरिएको बताउनु भयो ।
उहाँले मेला अवलोकनमा आउने उपभोक्तासँग प्रत्यक्ष भेटी उनीहरुको सुझाब अनुसारको जुत्ता चप्पल उत्पादन गर्ने लक्ष्य रहेको बताउँदै मेलाका माध्यमबाट स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै बजार विस्तार गर्नु पर्ने बताउनुभयो । उहाँले नेपाली जुत्ता चप्पल उद्योगी ब्यवसायीबिच स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्पादन विक्री र वितरणका लागि मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नैन बहादुर पण्डितले पनि बोल्नु भएको थियो ।
मेला तथा प्रदर्शनीमा केटिएम सुज, भेनस सुज, प्राइड स्वदेशी जुत्ता,फुट स्टेपस् सुज, हाइलाइफ फुट सुज, क्वालिटी शुज, शुभेक्छा शुज, शिद्धिविनायक फुटवेयर लगायतका ब्राण्डहरु जुक्ताहरु राखिएको छ । यस ब्राण्डका जुक्ताहरु गुणस्तरीय र निर्यात गर्न योग्य वर्षौ टिक्ने फ्रेस जुत्ता चप्पत भएको आयोजकले जनाएको छ ।
नेपालको कुल जनसंख्यालाई आधारमा मान्दा ३.५ करोड नेपालीले कुनै न कुनै प्रकारका जुत्ता चप्पल उपभोग गरेको पाईन्छ । प्रथम बृहत जुत्ता चप्पल प्रर्दशनी यहि २०७३ फाल्गुण १० देखी फाल्गुण १९ गते सम्म संचालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्