स्वावलम्बन विकास केन्द्रको दुई दिने गोष्ठी
काठमाडौं । लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र तय गर्न लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको सहभागीतामा काठमाडौंमा दुइ दिने गोष्ठीको आयोजना गरिएको छ ।
स्वावलम्बन विकास केन्द्रले २०७४ फागुन १० देखि ११ गतेसम्म आयोजना गरिएको गोष्ठीमा पहिलो दिन लघुवित्त संस्थाहरुलाई स्वस्थ, सबल र सक्षम बनाउने कार्यमा नीति निर्माण गरी संस्थालाई मार्ग दर्शन गर्न संचालक समितिका सदस्यहरुको भूमिका, लघुवित्त क्षेत्रमा हाल देखापरेका समस्याहको पहिचान र सो को समाधानका लागि उपायहरुको खोजी, लघुवित्त संस्था र ग्राहक संरक्षणमा संचालक समितिका पदाधिकारीहरुको भूमिका, कमी कमजोरीको विश्लेषण साथै सुशासन सम्बन्धमा छलफल भएको छ ।
गोष्ठीको उद्घाटन गर्नुहुदै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामिण क्षेत्रमा वित्तीय सेवा विस्तारमा लघुवित्त संस्थाहरुले सकृय भूमिका निर्वाह गरेको बताए । उनले लघुवित्तको माध्यमबाट ग्रामिण अर्थतन्त्रको मुहार फेरिएको र लघुउद्यम विकासमा महत्वपूर्ण योगदान रहेको बताए । बैंकिङ्ग सुविधा नपाएका विपन्न वर्गमा सेवा विस्तार गर्दै आएका लघुवित्त संस्थाका लागि नेपाल राष्ट्र बैंक पथ प्रदर्शकको रुपमा अगाडी बढ्न तयार रहेको बताए ।
गोष्ठीमा मन्तव्य राख्दै केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मूल मर्म र उद्देश्य बमोजिम अगाडी बढ्न सहभागी विभिन्न संस्थाका संचालक समितिका सदस्यहरुलाई आग्रह गरे । लघुवित्त क्षेत्रको दीगो विकास र विस्तारका लागि संचालकहरु कृयाशिल रहन र लघुवित्तको आधारभूत सिद्धान्तको अनुशरण गरी विपन्न वर्गको आर्थिक सामाजिक विकासमा योगदान पुग्नेगरी नीति निर्माण गर्न समेत अनुरोध गरे । हाल नेपालमा लघुवित्त संस्थाहरुको स्थापना हुने क्रम बढेका कारण पनि यसमा विभिन्न विकृतिहरु देखा पर्न थालेकोले अब लघुवित्त संस्थालाई अनुमति दिन स्थगत गर्नुपर्ने र लघुवित्त संस्थाहरुको नियमनका लागि अब छुट्टै नियमनकारी निकायको आवश्यकता महशुस भएको बताए ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तका ग्राहक सदस्यको संरक्षण र उनीहरुको आर्थिक सामाजिक विकास साथै उद्यमशीलता विकास गर्दै आयस्तर अभिवृद्धि गर्न संस्थाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए । लघुवित्त क्षेत्रमा देखापरेका विकृतिहरुलाई उजागर गर्दै सो को समाधानका लागि वित्तीय साक्षरताको आवश्यकता औंल्याए । लघुवित्त संस्थाका संचालक समितिका सदस्यहरुले ग्राहक सदस्यहरुसंग समेत पटक पटक अन्तरकृया गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका २२ वटा लघुवित्त संस्थाका ४० जना संचालक समितिका अध्यक्ष तथा संचालक तथा लघुवित्त विज्ञहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्