सांसदको शपथ फागुन २० गते गराउने तयारी, २१ गते संसदको बैठक

काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते गराउने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद्को बैठक आह्वान गरेकाले त्यसको अघिल्लो दिन सांसदको सपथ गराउने तयारी संसद् सचिवालयले गरेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ एकै दिन तर फरक फरक समयमा हुने सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् ।

कानुनअनुसार दुइटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् । सांसदलाई शपथ गराउनुअघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रियसभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको व्यहोरासहित ढाँचाको व्यवस्था गरिएको छ ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा अनुवाद गराएर तीन दिनअगावै संसद्का महासचिवलाई उपलब्ध गराउनुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्