दार्चुलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु
काठमाडौं, असार २४ । दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। बुधबार राति नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डिएसपी भट्टले बताए। उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ। पहिरोमा परेर नौगाढ गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए।
यससँगै नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको डिएसपी भट्टले जानकारी दिए।
स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्