काठमाडौंमा तोकिएको भन्दा बढी भाडा लिने आठजना पक्राउ

काठमाडौं , असार १६ । काठमाडौंमा तोकिएको भन्दा बढी भाडा लिने ८ जना पक्राउ परेका छन् । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हा ।

काठमाडौंबाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई , वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिमबहादुर गाहामगर, रूपन्देहीका वर्ष ३६ का दीपनारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

यस्तै, काठमाडौंबाट बा१६च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षे राकेश रसाइ्ली पक्राउ परेका छन् । रसाइलीले प्रतियात्रुसँग तीन हजार रूपैयाँका दरले भाडा लिएका थिए ।

महाशाखाका अनुसार चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रतिव्यक्ति पाँच हजारसम्म भाडा लिने २५ वर्षका झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ना१ज ७०२९ नम्बरको टाटासुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसरी उपत्यकामा यात्रुलाई बेलाबखतमा बढी भाडा असुल्ने गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्