प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथ फागुन २० मा

काठमाडौं– संघीय सांसदहरुको सपथ ग्रहण फागुन २० गते गराइने भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन सपथ ग्रहण गराउन लागिएको संसद् सचिवालयले जनाएको छ। संघीय संसदको बैठक स्थल संसद् भवन नयाँ बानेश्वरमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई एकैदिन फरक-फरक समयमा सपथ ग्रहण गराउने सचिवालयको तयारी छ। प्रतिनिधिसभाका सदस्यहरुलाई दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यहरुलाई साँझ ५ बजे सपथ ग्रहणको समय तोकिएको छ।

सपथग्रहणका लागि तोकिएको समयभन्दा एक घन्टा अगाडि संसद् भवनमा उपस्थित हुन सांसदहरुलाई सचिवालयले आग्रह गरेको छ। सपथग्रहण गर्न आउँदा राष्ट्रिय वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा आउन पनि सांसदहरुलाई अनुरोध गरिएको संसद सचिवालयका सचिव प्रदीप श्रेष्ठले जानकारी दिए। साथै, निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पनि सपथग्रहण गर्न जाँदा लैजानुपर्ने व्यवस्था गरिएको छ।

कुनै सांसदले मातृभाषामा सपथ ग्रहण गर्न चाहेमा सपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिन अगाडि नै संघीय संसदको महासचिवलाई उपलब्ध गराउनुपर्नेछ। दुवै सभाका सांसदहरुलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यहरुले सपथग्रहण गराउने भएकाले ज्येष्ठ सदस्यले त्यस अगाडि नै राष्ट्रपतिबाट सपथ ग्रहण गर्नुपर्नेछ।

प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्ष चयन नहुँदासम्म ज्येष्ठ सदस्यहरुले नै ती पदको जिम्मेवारी सम्हाल्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्