लुम्बिनी सरकारमाथि खनिए विपक्षी दलहरु , मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौं, जेठ १९ । लुम्बिनी प्रदेशसभामा आजदेखि शुरु भएको ८औं अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् ।
प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले सरकारको वैधानिकता माथि प्रश्न उठाउँदै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् ।
आजको पहिलो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवन आह्वानको पत्र सभामुख पूर्णबहादुर घर्तिले पढेर सुनाए लगत्तै सुरु भएको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक फकरउद्दिन खानले मूख्यमन्त्रीको राजीनामा माग गरे । अवैधानिक तवरले सरकार गठन गरिएको बताउदै उनले आदर्श र नैतिकता देखाउँदै मुख्यमन्त्रीले राजीनामा दिन आग्रह गरे ।
बहुमतका लागि ४१ जना सभासद्सहित दावी गर्नु पर्नेमा शंकर पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दावी गरेकाले सरकारले बैधानिकता गुमाएको बताए ।
खानका अनुसार संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएपनि अहिले सरकारको स्वरुप हेर्दा उपधारा २ बमोजिमको बन्न पुगेको दाबी गरे । सोही अनुसार वर्तमान सरकारले गठन भएको एकमहिना भित्र विश्वासको मत लिनु पर्ने माग गरे । सरकारले फेरि संसद छलेर अध्यादेशबाट बजेट ल्याएमा संसदीय व्यवस्थाको औचित्य पुष्टि नहुने बताए ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता सहश्राम यावदले सरकारले सत्ता लिप्तहुँदै स्वार्थपूर्तीका लागि आफ्नो दललाई समेत फुटाउने काम गरेको आरोप लगाए । कुनै पनि दललाई फुटाउने अधिकार सरकारसँग नभएको जिकिर गर्दै उनले आफू नै संसदीय दलको नेता भएको दाबी गरे ।
जसपाबाट सरकारमा सहभागी अन्य ४ जना सांसदहरुले संसदीय दलको नेता चयन गरेकोप्रति आपत्ति जनाउदै उनले आफू नै दलको आधिकारीक नेता भएको दाबी गरे । लुम्बिनी प्रदेशसभामा भएका ६ जना सदस्यमध्य यादवको पक्षमा उनीसँगै २ जना सरकारको विपक्षीमा उभिएका छन् भने ४ जना सरकारमा सहभागी छन् ।
यसैगरी नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्य सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेलको वैधानिकमा प्रश्न उठाउदै शपथ ग्रहणप्रति आपत्ति जनाए । बरालले मुख्यमन्त्रीलाई शपथ खुवाउनका लागि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्रीको क्वाटरमा पुर्याइएको टिप्पणी गरे ।
प्रदेशसभाका बहुमत सदस्यहरु एकातिर हुँदाहुँदै अवैधानिक रुपमा मुख्यमन्त्री पोखरेललाई शपथ ग्रहण गराइएको बताउदै उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माग गरे ।
बैठकमा सदस्यहरु विरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले बोल्दै सरकारको आलोचना गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्